दुई सय बेडको आइसोलेसन, ५ सय बेडको क्वारेन्टाइन



राेशन पराजुली,हेटौंडा ।

कोरोना संक्रमणको जोखिम न्यून गर्न बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा गरी २ सय बेड आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ ।प्रदेश राजधानी हेटौंडामा एक सय बेडको आइसोलेसन अस्पताल स्थापना गर्न लागिएको हो । हेटौंडामा ५ सय बेडको क्वारेन्टाइन स्थापना गर्न लागिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
हेटौंडाको विभिन्न सरकारी तथा सामुदायिक भवनमा क्वारेन्टाइन स्थापना गर्न लागिएको छ ।

एक हप्तादेखि १० दिनसम्म दुवै काम सम्पन्न गरिने छ । हालसम्म प्रदेशका जिल्लामा ३० बेडको आइसोलेसन स्थापना गरिसकिएको छ ।कोरोना संक्रमण देखिए विद्यालयका नर्सलाई पनि स्वास्थ्य संस्थामा खटाएर काम गरिने छ । हेटौंडा एकेडेमीमा दुई सय बेड, बनविज्ञान अध्ययन संस्थानमा एक सय बेड, गौरीटार खेलकुद एकेडेमीमा एक सय बेड, कर्रा खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पमा एक सय बेडको व्यबस्था गरिने भएको हो ।

प्रदेशका विभिन्न जिल्लामा आइसोलेटेड वार्ड स्थापना गरिनेछ । हेटौंडा अस्पतालमा एक सय, भक्तपुर अस्पतालमा पाँच, सिन्धुपाल्चोक अस्पतालमा पाँच, रसुवा अस्पतालमा चार, नुवाकोट अस्पतालमा पाँच, धादिङ अस्पतालमा पाँच, रामेछाप अस्पतालमा दुई, सिन्धुली अस्पतालमा तीन, चितवन (भरतपुर) अस्पतालमा ५०, जिरी÷मेथीनकोट÷बगौडा÷बकुलहर अस्पतालमा ५० बेड व्यबस्थापन गरिनेछ ।

भेन्टिलेटरसहित आईसीयु कक्ष व्यबस्थापन गर्न हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा पाँच, सिन्धुली अस्पतालमा पाँच, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी÷मेथीनकोट÷बगौडा÷बकुलहर अस्पतालमा १०, निजी अस्पताल (मेडिकल कलेज) मा एक सय बेड भेन्टिलेटसहित आईसीयु कक्ष स्थापना गरिने भएको हो ।प्रदेश मातहतका अस्पतालबाट छुट्टै फिवर क्लिनिक सञ्चालन गर्ने र प्रदेशका अन्य अस्पतालबाट समेत यस्तो व्यबस्थापनका लागि प्रदेश सरकारले अनुरोध गर्ने जानकारी गराएको छ । प्रदेशका मुख्य सडक नाका तथा बसपार्कमा स्वास्थ्य सहायता कक्ष (हेल्थडेस्क) सुरक्षा निकाय तथा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बेलैमा रोकथामको तयारी थालिएको छ । कोरोना देखिए तत्काल उपचारका लागि तयारी थालिएको प्रदेश सरकारले दाबी गरेको छ । यसका लागि प्रदेश सरकारले ३ समिति गठन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) बाट बच्न उच्च सतर्कता अपनाउँदै समितिहरु गठन गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कोराना नियन्त्रण समिति, स्वास्थ्य व्यबस्थापन समिति र बजार अनुगमन उच्चस्तरीय समिति गठन गरेको हो ।

प्रदेशस्तरीय कोराना नियन्त्रण समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक छन् । सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्री, राजनीतिक सल्लाहकार, प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालय सचिव, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सचिव, हेटौंडास्थित प्रदेशस्तरीय कार्यालय प्रमुखहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश स्वास्थ्य निर्देशक र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सदस्य सचिव छन् ।

स्वास्थ्य व्यबस्थापन समितिको संयोजकमा सामाजिक विकास मन्त्री युवराज दुलाल छन् । सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख, सामाजिक विकास मन्त्रालय सदस्य सचिव छन् ।

बजार अनुगमन उच्चस्तरीय समिति संयोजकमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री तथा सदस्यमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालय प्रमुख, स्वास्थ्य सेवा निर्देशनालय प्रमुख र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशक सदस्य सचिव छन् ।

कोरोना नियन्त्रणसँग सम्बन्धित सामान खरिद गर्दा सार्वजनिक खरिद ऐनको दफा ४१ बमोजिम सोझै खरिदसम्बन्धी व्यबस्था मिलाउन संघीय सरकारमा अनुरोध गरिएको छ । अत्यावश्यक सेवामा कार्यरत् सरकारी वा सार्वजनिक क्षेत्रमा कार्यरत् जनशक्तिलाई बिदा वा काज नछाड्न प्रदेश सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्