प्रदेश १ मा सेनाले बनायो ६ सय शैयाको क्वारेन्टाइन



सरोज यादव, मोेरङ । 

प्रदेश १ सरकारले प्रदेशका तीन जिल्लामा ६ सय बेडको क्यारेन्टाइन तयार गरेको छ । सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ ।

नेपाली सेनाको टोलीले बु्धबारबाट सुरु गरी बिहीबार क्वारेन्टाइन निर्माण गरेको हो । प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडी स्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो ।

सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ । नेपाली सेना पूर्वी पृतना इटहरीका अनुसार तत्कालको लागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गरिनेछ । डब्लुएचओको मापदण्ड अनुसार क्वारेन्टाइनस्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राबिधिक र अन्य जनशक्ति व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाएको छ ।

यसैगरी नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण भएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा अब औषधि, अन्य प्राबिधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ ।

प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो । प्रदेश सरकारको टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्