दूध दिन छोडेपछि आधा दर्जन गाईको हत्या, रुखमा झुण्डिएको अवस्थामा कंकाल भेटियो



राम धामी, डडेल्धुरा । 

डडेल्धुराको प्रशिद्ध महाभारत वनक्षेत्रमा आधा दर्जन गाई मृत भेटिएका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका १ स्थित देउपाल समुदायीक वनमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो ।

महाभारत वन क्षेत्रमा पर्ने सो सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा सल्लाको रुखमा तारले बाँधी झुण्ड्याइएको अवस्थामा गाईका कंकला भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले बताए । करिब एक साता अघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

पाँच वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुई वटा खाली पासो समेत भेटिएका छन् । मारिएका गाईको उमेर दुई वर्ष मूनि रहेको पशुसेवा प्राविधिकहरुले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो ।

गन्यापधुरा गाउपालिका अध्यक्ष नबलबहादुर मल्लले आफुले जंगलमा गाईको कंकाल भेटिएको भन्ने खबर सुनेकाले यस बिषयमा बिस्तृत जानकारी लिने बताए । खबर पाएलगत्तै विस्तृत जानकारी लिन वडा नम्बर १ का वडाध्यक्ष चेतराम भट्टलाई घटनास्थलतर्फ पठाएको उनले जानकारी दिए । गाई हिन्दु धर्मावलम्बिहरुको आस्थाको जनावरसंगै नेपालको राष्ट्रिय जनावर भएकाले जंगलमा लगी पासो लागाई हत्या गरिएको खुले जो कसैलाई पनि कानुन बमोजिम कार्वाहीको माग गर्ने उनको भनाई छ ।

हिन्दु परम्परामा कुनै पनि पुजाआजा गर्दा गाईको गहुत, गोबार आवश्यक पर्ने र लक्ष्मीको रुपमा पुजा आजा गरिने गाईको ग्याबिङ्ग तारले रुखमा बाँधी भिरालो स्थानमा हत्या गरिएको अवस्थामा कंकाल भेटिएपछि हिन्दु धर्मको अस्तित्वमाथि शंका उत्पन्न भएको छ । पछिल्लो समय छाडा गाई छोड्नेको लहर पहाडी गाउ घरमा पनि मौलाउदै गएको छ । छाडा गाई गोरुले दिनहु किसानका अन्न बालि खाएर सखाप पनि पार्ने गरेका छन् । गाईले दुध दिन छोडेपछि गाईलाई गाउँभन्दा टाँढाको वन जंगलमा पुर्‍याई छोड्ने चलन यस अघि नै भित्रिएको थियो ।

यस अघि पनि स्थानीयले वन जंगलका रुपमा प्लाष्टिक तथा अन्य डोरीले गाईलाई बाँधेर आउने गरेका थिए । तर ग्याबिन तारले बाँधेर गाईको हत्या गरि कंकाल भेटिएको यो पहिले घटना हो । यस अघि पनि गन्यापधुरा गाउपालिका–१ बाट मिनि ट्रकमा २० भन्दा बढी गाई राखि बैतडीतर्फ लैजादै गर्दा जिल्ला सदरमुकामबाट स्थानीयले फर्काएका थिए । ट्रकमा राखी गाई जंगलमा छोड्न लागिएको स्थानीयले जानकारी पाए पछि गाई सम्बन्धित वडा मै फर्काईएको हो ।

गाईलाई अन्य डोरीले बाँधी जंगलमा छोड्दा डोरी तोडी फेरि पनि गाई गाउघरतर्फ नै आउने वा अन्य स्थानमा पुगि अन्नवाली खाई सखाप पार्ने गरेकाले स्थानीयहरुले नै भिरालो स्थानमा ग्याबिन तारको प्रयोग गरी बाँधेका हुन सक्ने स्थानीयको भनाई छ । ग्याबिन तार नटुटेपछि कयौ दिन भोकै रहदा गाई मरेको हुन सक्ने अनुमान गरिएको छ । कैलाली र कञ्चनपुरका स्थानीय तहले समेत छाडा चौपाया व्यवस्थापनका नाममा जिल्लाको महाभारत वन क्षेत्रमा गाई छोडने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्