कोरोना अपडेट: विश्वका १७६ मुलुकमा संक्रमण, ८ हजार ९८२ को मृत्यु, २ लाख २० हजार १९९ संक्रमित



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वका १७६ मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकका ८ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, विश्वभरका २ लाख २० हजार १९९ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने ८५ हजार ७ सय ६९ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानमा पहिलो पटक देखा परेको यो भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ४५ जनाको मृत्यु भएको छ भने ८० हजार ९ सय २८ जनामा संक्रमण रहेको छ । चीनमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन घट्दै गएको छ । त्यस्तै, चीनमा मात्रै ७० हजार ४ सय २० जना संक्रमित पूर्ण उपचारपछि घर फर्किएका छन् ।

अहिले चीनपछि दोस्रो कोरोना प्रभावित मुलुक इटाली बनेको छ । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ भने २ हजार ९ सय ७८ जनाको मृत्युु समेत भएको छ । संक्रमणका कारण इटालीमा एकै दिनमा ४ सय ७५ जना ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् भने १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, स्पेनमा ६ सय ३८, जर्मनीमा २८, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

विश्वका विभिन्न मुलुकमा भेटिएको कोरोना संक्रमण नेपालमा भने अहिलेसम्म फेला परेको पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्