कोरोनाको त्रास कतिन्जेल ?



चीनमा संक्रमणकै रूपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ। जापान, थाइल्यान्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो।
विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन्। चीनको हुवानबाट शुरू यो भाइरसबाट अहिलेसम्म लाखौँ चिनियाँ प्रभावित छन्। छोटो अवधिमै विश्वभर करिब ७ हजारजनाको मृत्यु भइसक्यो। पछिल्लो समय चीनलगायत छिमेकी मुलुकमा पनि यसबाट बच्न उच्च सतर्कता अपनाइएको छ।
कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए। क्रमशः त्यो फैलँदै गएको हो। वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन्। चिनियाँ वैज्ञानिकहरूले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दै आएका छ। चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सक बताउँछन्।
यस भाइरसको संक्रमण थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ। मध्यपूर्वी मुलुकमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) र चीनमा सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसले सताएको पृष्ठभूमिमा नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्ला भाइरस पनि यसैको सदस्य हो। कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो। विश्व स्वास्थ्य संगठनले त यसलाई विश्व महामारीकै रूपमा घोषणा गरिसकेको छ। भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ।
कोरोना भाइरस विभिन्न प्रकारका छन्। यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो। अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो। यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसभन्दा तीव्र एवं धेरै छ। स्वास्थ्य विशेषज्ञहरूले यो निकै भयानक रहेको बताइरहेका छन्।
यति बेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ। जबकि कोरोना भाइरसले संक्रमण गरिसकेपछिको शुरूवाती लक्षण पनि यस्तै हुन्छ। त्यसैले यसबाट कतिपय झुक्किन सक्छन्। रुघाखोकीजस्तै लागे पनि यो सामान्यरूपमा रहँदैन। त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ। कतिपय अवस्थामा यसबाट मृत्युसमेत हुन्छ। यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ। यसरी सर्दै–सर्दै मान्छेसम्म पुग्छ।
कोरोनाको त्रास कतिन्जेल रहने हो ? यसै भन्न सकिने अवस्था छैन। त्यसैले यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाइमा विशेष ध्यान दिने नै हो।
– विश्व सुवेदी, धनगढी, कैलाली।
फोहोरलाई मोहोर बनाउनेतिर ध्यान दिऔं
जान्ने र सक्नेले फोहोरबाट पनि मोहोर फलाउँछ। यो उखान मात्र होइन, यसमा अन्तर्निहित भावले मानिसमा सोच र कुनै पनि कामलाई हेय नठानी लगनपूर्वक गर्ने मानसिकता छ भने फोहोरबाट मोहोर फलाउन सकिन्छ। यस्तै एउटा फोहोर हो कबाड। कबाड भनेको उपभोगमा आइसकेर काम नलाग्ने वस्तु। कबाड जे पनि हुनसक्छ। धातुका पुराना, उपयोग भइसकेर काम नलाग्ने, फेसनमा फिट नहुने सबै कबाड नै हो। हामी यसलाई मिल्काइदिन्छौं। बढीमा कोही किन्न आउँछ भने बेचेर दंग पर्छौं, फाल्नुपर्ने वस्तुको पनि दाम आयो भनेर।
उपयोग समाप्त भएर खेर गएको वस्तुको त के कुरा, घरको फोहोर (सागपातका टुक्रा, कसिँगर, खाद्यपदार्थको अवशेष) बाट पनि मोहोर प्राप्त गर्न सकिन्छ। हो, घरको फोहोरको वैज्ञानिक विधिले व्यवस्थापन गर्न सकियो भने करेसाबारीका लागि राम्रो मल तयार हुन्छ। अहिलेको युगमा त कुनै पनि वस्तु कबाड हुँदैन। जसलाई हामी कबाड भनेर, घर–घर डुलेर कम दाममा खरिद गर्ने भारतीय नागरिकलाई बेच्छौं, ती वस्तु रिसाइक्लिङ गरेर पुनः उपयोगी सामान बनाइन्छ र हामी पुनः आयात गरी बढी मोलमा किन्छौं।
दुःखले पिल्सिएका, रोजगारविहीन भारतीय नागरिकले हाम्रो कबाड खरिद गर्दा हामी दंग पर्छौं, पछि कबाडबाट उनीहरूले पैसा कमाएको सुन्दा ठगिएको महसुस गर्छौं। देशमा रोजगार नपाएर उनीहरूले घरपायक यस्तो काम गरेका हुन्। बेरोजगारी हामीकहाँ पनि छन्। तर हामी स्वरोजगार गर्न चाहन्नौं। सुविधा र जोखिमरहित काम गर्न चाहन्छौं। त्यसैले अरबको तातो मरुभूमिमा सेकिन जान्छौं। न नागरिकले कबाडलाई रोजगारको माध्यम बनाएको थाहा छ, न सरकारले नै यस्ता वस्तु आफ्नै मुलुकमा खपत गर्न सक्ने कारखानाहरू निर्माणमा लागेको पाइन्छ।
केही काम यस्ता हुन्छन्, जुन नागरिकले गर्न हच्किन्छ। सरकारले त्यस्तो काममा हात हाल्नुपर्छ र नागरिकलाई सिकाउनुपर्छ। आज वीरगन्ज चिनी कारखाना बन्द भयो तर यसैको देखासिकी नेपालमा थुप्रै चिनी कारखानाहरू खुले। सिमेन्ट, कपडा कारखानादेखि अन्य उत्पादनमा नागरिक अघि सर्दैन भने सरकारले बाटो देखाइदिनुपर्छ। नागरिक हत्तपत्त आपूmले नजानेको काममा हात हाल्न चाहँदैनन्। त्यसमा सीप, पूँजी, जनशक्ति, बजार आदिको प्रश्न खडा हुन्छ। सरकारले आफैं त्यस्तो काम गरिदिएर पूर्वाधार खडा गरिदिने हो भने भोलि जनताले त्यो काम आफ्नो हातमा लिन्छन्।
हुन त अहिले वीरगन्जमा फोहोर संकलन केन्द्र निर्माण हुँदै छ। यो बनेपछि फोहोर व्यवस्थापनका साथै महानगरलाई आम्दानी पनि हुन थाल्छ। आज वीरगन्जमा खालि बोतलहरूको भरमार छ। साथै शिशाका सामानहरू कबाड बनेर खेर गइरहेको छ। सरकार वा महानगरले एउटा ग्लास फ्याक्ट्री खोलिदिने हो भने कच्चा पदार्थको कमी नै रहँदैन, फोहोर व्यवस्थापन हुन्छ, शिशाको सामानको आयात कम हुन्छ र देश वा महानगरलाई आय पनि प्राप्त हुन्छ। केही मानिसले रोजगार पाउँछन्।
यो क्रम बढ्दै गयो भने धेरै नेपालीले रोजगारका लागि विदेश जानुपर्ने छैन। हाम्रो सोच सुविधाभोगी छ। सानो काम गर्न हामीलाई लाज लाग्छ। आफ्नो घरको फोहोर सफा गर्न लाज लाग्छ तर विदेशीको चर्पी सफा गर्दा कुनै प्रकारको लज्जाबोध हुँदैन। कबाडको पुनः उपयोगजस्तै हामीले आफ्नो ‘कबाड–सोच’ पनि पुनरूपयोगी बनाउनुपर्छ।
– गोपाल लामिछाने, खोटाङ।

प्रतिक्रिया दिनुहोस्