भट्टराईको परिवारलाई अमेरिकाबाट १० लाख सहयोग



अभिनेता, निर्माता तथा चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई अमेरिकामा रहेका नेपाली कलाकर्मीले सहयोग गरेका छन्।
चलचित्र विकास बोर्डको कार्यालयमा हालै आयोजित एक कार्यक्रमका बीच भट्टराईको परिवारको सहयोगार्थ अमेरिकामा रहेका कलाकर्मीले पठाएको १० लाख ७ हजार ९ सय ६० रुपियाँ फिल्मकर्मी नीर शाहबाट स्व. भट्टराई कि श्रीमती नीता भट्टराईलाई हस्तान्तरण गरिएको हो। उक्त रकम अमेरिकासँगै बेल्जियम र क्यानाडामा रहेका कलाकर्मीले पनि सहयोग गरेका हुन्। ]
निर्देशक एवम सञ्चारकर्मी सुरेश दर्पण पोखरेलको संयोजनमा संकलित रकम हस्तान्तरण कार्यक्रममा फिल्मकर्मी नीर शाह, चलचित्र विकास बोर्ड पूर्वअध्यक्ष राजकुमार राई, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालगायतको उपस्थिति रहेको थियो।
अमेरिकामा रहेका कलाकर्मीले यसअघि अभिनेता दीपक छेत्रीको क्यान्सर उपचारको सहयोगार्थ करिब १० लाख रुपियाँ र गायक आनन्द कार्कीकी मृगौलापीडित श्रीमती ईश्वरी कार्कीको उपचार सहयोगार्थ १ लाख २५ हजार सहयोग गरेका थिए। क्यान्सरपीडित क्षत्रीको भने केही समयअघि निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्