भारतमा कोरोनाको सफल उपचार भएको दाबी



नयाँदिल्ली (एजेन्सी)

भारतको राजस्थानको राजधानी जयपुरस्थित सवाइ मानसिंह अस्पताल (एसएमएस) मा कोरोना पोजिटिभ बिरामीको सफल उपचार भएको दाबी गरिएको छ।

उक्त अस्पतालमा भर्ना भएका कोरोना पोजिटिभ तीन बिरामीलाई रेट्रोभाइरल औषधिका माध्यमबाट ठीक पारेको हो। उनीहरूमध्ये दुईजना इटालीबाट जयपुर आएका हुन् र एक जयपुरकै बासिन्दा भएको बताइएको छ। जयपुर निवासीमा कोरोना संक्रमण पाइएको थियो, उनको उमेर ८५ वर्षको बताइएको छ।

उपचारपछि ती बिरामीमा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले दाबी गरेको छ। तर, हाल पनि उनीहरूलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राखिने जनाइएको छ। एसएमएस अपस्पतालका चिकित्सक डा. डीएस मिणाले सञ्चारमाध्यममा उक्त दाबी गरेका हुन्।

नयाँ औषधिले कसरी काम गर्छ ?

वास्तवमा कोरोना भाइरस बिल्कुल नयाँ रोग हो। कोरोना भाइरस र एचआईभी भाइरसको एउटैजस्तो अणु संरचना रहेका कारण उक्त एन्टी ड्रग दिइएको हो। एचआईभी एन्टी ड्रग लोपिनाविर र रिटोनविर एन्टी ड्रग दिने फैसला वरिष्ठ डाक्टरको टोलीले लिएको हो। यसलाई रेट्रोभाइरल ड्रग पनि भन्ने गरिन्छ।

उक्त टोलीमा संलग्न चिकित्सक सुधीरका अनुसार सार्सका बिरामीमा पनि यो औषधिको प्रयोग पहिल्यै गरिसकिएको हो। कोरोना भाइरस पनि एक भाइरसबाट फैलिने रोग हो। कोरोना भाइरस यही परिवारको भाइरस हो, जुन म्युटेसनबाट बनेको हो।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यसका लागि प्रस्ट निर्देशिका जारी गरी कस्ता बिरामीलाई यो औषधिको प्रयोग गर्न सकिन्छ भनी प्रस्ट पारेको छ।

सवाइ मानसिंह अस्पतालमा आईसीएमआर गाइडलाइनअन्तर्गत यो औषधिको प्रयोग गरिएको हो। उक्त निर्देशिकामा सहमत बिरामीमा मात्रै यसको प्रयोग गर्न सक्ने प्रस्ट पारिएको डाक्टर मिणाले बताए।

नयाँ औषधिको प्रयोगपछि इटाली निवासी महिला र जयपुर निवासी वृद्धमा हाल कोरोना नेगेटिभ त देखाएको छ तर फोक्सो, हाइपरटेन्सनको समस्या उनीहरूमा हाल पनि छ।

राजस्थानका चौथो बिरामी कम उमेरका हुन्। त्यसैले, शुरूमा उनीमाथि यो औषधिको प्रयोग गरिएको थिएन। मंगलबार ती बिरामीमाथि पनि रेट्रोभाइरल औषधि प्रयोग गरिएको डा. मिणाले बताए। आईसीएमआरको गाइडलाइन र चिकित्सकहरूको विशेष टोलीको सल्लाहमा यो फैसला लिइएको हो।

भारतभन्दा पहिला चीन र अमेरिकामा पनि यसको प्रयोग भइसकेको उक्त अस्पतालका डाक्टर सुधीर भण्डारीले जानकारी दिए। त्यसैले, भारतमा सबैभन्दा पहिला यस प्रकारको औषधिको प्रयोग सत्य नभएको उनले बताए। जयपुरमा बिरामी ठीक भएपछि सवाइ मानसिंह अस्पतालमा अन्य देशबाट यस विषयमा फोन आइरहेको उनले जानकारी दिए।

उनीहरूलाई पाकिस्तान, बंगलादेश र इटलीबाट समेत यो नयाँ उपचार प्रविधिका विषयमा फोन आएको डाक्टर मिणाले दाबी गरेका छन्। योबाहेक महाराष्ट्रमा पनि केही बिरामीमाथि यसको प्रयोग गर्न अनुमति दिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्