शोधनान्तर स्थिति बचतमा



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्षको ७ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार २१ अर्ब ६१ करोडले शोधानान्तर स्थिति बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ।

चालू खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपियाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सात महिनामा १ अर्ब ४६ करोड रहेको चालू खाता घाटा ९८ करोड ४८ लाख रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपियाँ रहेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपियाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्