निर्माण उपकरण आगजनीप्रति महासंघको आपत्ति



काठमाडौं, (नेस) ।

निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट भइरहेको श्रृखंलाबद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराइएको उल्लेख छ। तर, आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको  महासंघले जनाएको छ।

महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजना अन्र्तगत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रा लि को स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी भएको छ।

त्यस्तै दानबहादुर खड्का सञ्चालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका–९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनिक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएको छ।

उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो। आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ।

विगतमा यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ। महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायीसहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ।

पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ। व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्