मूल्यवृद्धि नियन्त्रण बाहिर



काठमाडौं, (नेस) ।

चालू आर्थिक वर्षको सात महिनासम्म मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मद्रास्फीति ९ दशमलव ७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ६५ प्रतिशत रहेको छ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ।

काठमाडौं उपत्यकामा ७ दशमलव ५८ प्रतिशत, तराईमा ७ दशमलव २९ प्रतिशत, पहाडमा ५ दशमलव ४६ प्रतिशत र हिमालमा ५ दशमलव २८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ माघमा यी क्षेत्रमा क्रमशः ५ दशमलव १९ प्रतिशत, ३ दशमलव ४४ प्रतिशत, ४ दशमलव ९१ प्रतिशत र ५ दशमलव २७ प्रतिशत मुद्रास्फीति रहेको थियो।

माघ महिनासम्ममा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेब्रुअरी महिनाको) मुद्रास्फीति ६ दशमलव ५८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४ दशमलव ३५ प्रतिशत र २ दशमलव ५७ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव १३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव १८ प्रतिशत रहेको थियो।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७ दशमलव ५१ प्रतिशत, ७ दशमलव ७० प्रतिशत र २ दशमलव ९४ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३ दशमलव ८९ प्रतिशतले घटेको छ।

माघ महिनासम्ममा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ११ दशमलव ३१ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक १३ दशमलव ५५ प्रतिशत र ज्यालादर सूचकांक ५ दशमलव ८९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्