व्यापार घाटा ५ दशमलव ३ प्रतिशतले संकुचन



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्ष २०७६/७७ को सात महिनामा कुल वस्तु व्यापार घाटा ५ दशमलव ३ प्रतिशतले संकुचन भएको छ। बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार व्यापार घाटा ७३८ अर्ब ६३ करोड रुपियाँमा सीमित हुन पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो घाटा २७ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव १ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ४ प्रतिशत रहेको थियो। चालू आर्थिक वर्षको माघ महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाई मूल्य सूचकांक १ दशमलव शून्य प्रतिशतले घटेको छ भने आयात मूल्य सूचकांक ३ दशमलव ६ प्रतिशतले बढेको छ।

चालू आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। चालू आवमा यस्तो व्यापार ६४ अर्ब ९७ करोड रुपियाँ पुगेको छ।

२०७५ माघ महिनामा वार्षिक बिन्दुगत आधारमा १ दशमलव १ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ माघ महिनामा ४ दशमलव ४ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। चालू आवमा यस्तो व्यापार ६४ अर्ब ९७ करोड रुपियाँ पुगेको छ। 

गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। यस्तै अन्य मुलुकतर्फ २ दशमलव ४ प्रतिशतले निर्यात घटेको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।

चालू आर्थिक वर्षको सात महिनामा कुल वस्तु आयात ३ दशमलव ६ प्रतिशतले घटेर ८०३ अर्ब ६० करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ दशमलव शून्य प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८ दशमलव शून्य प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९ दशमलव ८ प्रतिशत र शून्य दशमलव ८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ वीरगन्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

समीक्षा अवधिमा खुद सेवा आय ४ अर्ब ११ करोड रुपियाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९ अर्ब ४९ करोड रुपियाँले घाटामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्