बनेपामा सहकारीको बचत ‘संकट’मा



मोतीराम तिमल्सिना,काभ्रे। 

राज्यको पुर्नसंरचनासँगै अधिकार हस्तान्तरण भए पछि डिभिजन सहकारी कार्यालयको खारेजसँगै स्थानीय, प्रदेश र संघ सरकार मातहत रहने सहकारीहरुको नियमन हुन नसक्दा भएको विकृतिका कारण सर्वसाधारणको बचत रकम जोखिममा परेको छ । बनेपामा रहेका विनायक, अखण्ड, मालाश्री, सत्कार लगायतका सहकारीहरुमा बचत गरेको रकम जोखिममा परेको छ । मालाश्री र सत्कार पूर्णत बन्द अवस्थामा छन् । तर पनि बचतकर्ताहरुको करोडौ रकम फिर्ता हुन सकेको छैन ।

अखण्ड र विनायकमा असोज महिना देखि बचत फिर्ता लिन आउनेहरुको लर्काे छ । तर पनि बचतकर्ताहरुले आफुले दुख गरेर जम्मा गरेको रकम फिर्ता पाउन नसकेको गुनासो गरेका छन् । बनेपा नगरपालिकामा रहेको विनायक र अखण्ड सहकारीले बचतकर्ताहरुको जम्मा गरेको रकम २०७६ असोज महिना देखि फिर्ता दिन सकेका छैनन् । अखण्ड सहकारीले १ करोड ७५ लाख फिर्ता गर्न सकेको छैन भने विनायकले २ करोड ७५ लाख फिर्ता गर्न सकेको छैन ।

सहकारीका संचालक र ब्यवस्थापकहरुले संस्थाको रकम ब्यक्तिगत प्रयोग गरेका कारण बचतकर्ताहरुको रकम फिर्ता हुन नसकेको हो । बचतकर्ता प्रविण राईले विनायक बचतमा जम्मा गरेको १० लाख मुद्दती र ४ लाख दैनिक बचतको गरी १४ लाख रकम फिर्ता पाउन सक्नु भएन । बचत रकम फिर्ता नभए पछि उहाँले फागुन २९ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिई फागुन ३० गते विनायक सहकारीमा ताला लगाई दिनु भयो । असोज १६ गते पनि उक्त कार्यालयमा तालाबन्दी भएको थियो ।

धरान घर भएका उहाँ बनेपामा मोवाईल मर्मत गर्दै आउनु भएको छ । ‘पटक पटक रकम फिर्ता दिन्छु भन्दै ढाँटेर ब्यवस्थापक फरार भए पछि प्रहरीकोमा उजुरी दिएर कार्यालयमा ताला लगाई दिएको हुँ’–बचतकर्ता प्रविण राईले भन्नुभयो–‘म लगायत ७ जनाको उजुरी ईलाका प्रहरी कार्यालय बनेपामा दर्ता गरेका थियौं, प्रहरीले ब्यवस्थापक रामसुन्दर कार्कीलाई पक्राउ गरी कागज गराई पैसा तिर्ने शर्तमा छाडिदिएको छ ।’

बनेपा नगरपालिका नाला घर भई बनेपामा होटल गरी बसेका रत्नकाजी श्रेष्ठले जुठा भाँडा माझेर कमाई गरेको १४ लाख रकम विनायक सहकारीबाट फिर्ता पाउन सक्नु भएको छैन । मेनुका कुमारी खरेलले प्रहरी कार्यालयमा १६ लाख रकम फिर्ता नपाएको भन्दै २०७६ पुष १० गते जाहेरी दिनु भयो । विनायक सहकारीले रकम फिर्ता नगरेको भन्दै बचतकर्ता लेखप्रसाद घोरसाईनेले फागुन ७ गते बनेपा नगरपालिकामा उजुरी दिनु भयो ।

नगरपालिकाले घोरसाईनेको उजुरीका आधारमा फागुन १३ गते सहकारीलाई आवश्यक कागजात सहित उपस्थित हुन ७ दिनको पत्र पठायो । त्यसको उत्तर र कागजात अझै नगरपालिकामा पेश गरिएको छैन । विनायक सहकारीका ब्यवस्थापक रामसुन्दर कार्की अखण्ड सहकारीका अध्यक्ष हुन् । विनायकमा जस्तै अखण्डमा पनि बचतकर्ताहरुको लाईन छ । रकम फिर्ता नहुँदा पीडितहरु सरोकारवाला निकायमा धाउँदा पनि रकम फिर्ता हुन सकेको छैन ।

अखण्डका अध्यक्ष एवं विनायकका ब्यवस्थापक रामसुन्दर कार्कीले आफुहरुले बेईमान नगरेको तर एकै पटक बचतकर्ताहरुको रकम फिर्ता दिन कठिन भएको बताउनु भयो । ‘बजारमा सहकारी भाग्दैछ भन्ने हल्ला हामी भित्रकै संचालक र कर्मचारीहरुले फिजाएका कारण एकै पटक बचत फिर्ता गर्न कठिन भएको हो’–उहाँले भन्नुभयो–‘लगानीमा रहेको रकम उठाएर सबै बचतकर्ताहरुको रकम फिर्ता गर्नेछौं ।’ बचतकर्ताहरुले भने विश्वास नभएकाले प्रहरी र नगरपालिकाका गुहार्नु परेको बताएका छन् ।

विनायकमा भरत बागदास अध्यक्ष, मिना दाहाल उपाध्यक्ष, अनिता बस्नेत सचिव, दिपक बस्नेत कोषाध्यक्ष र विक्रम बागदास, राजु बस्नेत, भिमबहादुर पुलामी, रमेश रञ्जित संचालक सदस्य छन् । लेखा समितिमा सन्तोष बोलखे संयोजक र भुवन सिंजाली सदस्य छन् । विनायक सहकारी कृष्णनारायण भैलको अध्यक्षतामा २०६६ साल चैत्र २५ गते दर्ता भएको थियो । भैलको समुहले चार वर्ष अघि दिलमाया लिम्बुको समुहलाई ५ लाखमा विक्री गरेको प्रवन्धक रामसुन्दर कार्कीले बताउनु भयो ।

अखण्ड सहकारी जटिबुटी सहकारी हो । काभ्रे जिल्ला क्षेत्र भर कार्य क्षेत्र रहेको उक्त सहकारीको अनुगमन आउने टोलीले समेत संचालकसँगको मिलेमत्तोमा कारवाही नगरेको पीडितहरुको गुनासो छ । अधिकार प्रत्यायोजन गरे लगत्तै नियमन हुन नसक्दा सहकारी भित्र अनियमितता मौलाएको सहकार्रीकर्मीहरुले बताएका छन् । अनियमित गर्ने सहकारीका बारेमा सरोकारवाला निकाय मौन छन् ।

प्रतिक्रिया दिनुहोस्