कोरोना भाइरस सङ्क्रमणका कारण एशियाभन्दा यूरोपमा बढीको मृत्यु : एएफपी



पेरिस ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ । ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटली,स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ । प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ । इटलीमा दुई हजार ५०३ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ५९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ ।

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८० हजार ८९४ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ । चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटलीमा ३१ हजार ५०६ जना रहेको छ भने इरानमा १६ हजार १६९ पुगेको छ । इरानमा ९८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्