प्रदेशको नाम ‘थरुहट–अवध–मगरात’ राख्न समाजवादी पाटीकाे माग



यमलाल भुसाल,बुटवल ।

समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ । पार्टीले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको वाहुल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको हो । प्रदेश ५को कूल जनसंख्या मध्ये थारु,मधेशी र मगरको जनसंख्या ८० प्रतिशत भन्दा बढी रहेकाले उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट–अवध–मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए ।

‘संघीयता भनेकै ऐतिहासिक पहिचान,अधिकार र अपनत्वका लागि हो’–यादवले भने–‘पञ्चायती व्यवस्थाकै जस्तो पहिचान विरोधी नामाकरण समाजवादीलाई स्वीकार्य छैन ।’ पार्टीले प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ । सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहां भन्ने बारे भने पार्टीले स्पष्ट पारेको छैन । पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

यस्तै पार्टीले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसंग सीमा जोडिएका सबै नाकामा क्वारेन्टाइनको व्यवस्था गर्न,हालै परेको असिना पानीले अन्नबाली र तरकारीमा पारेको क्षतिको क्षतिपूर्ति दिन,कृषि अनुदान पहुंचवालालाई भन्दा वास्तविक किसानले पाउने गरी कार्यदल बनाएर मात्र वितरण गर्न माग गरेको छ । पार्टीले जनयुद्ध,मधेश तथा थरुहट आन्दोलनका क्रममा घाइते,अपांगहरुको निःशुल्क उपचार गर्न र झुठा मुद्दा खारेज गर्न समेत माग गरेको छ ।

जनयुद्धका समयमा तत्कालीन जनसरकारले जग्गा किनबेच सम्बन्धी गरेको निर्णयका कारण अहिले जनता दुई मारमा परेकाले पीडित नागरिकलाई न्याय दिन सर्वपक्षीय कार्यदल गठन गरी समस्या समाधान गर्न पार्टीले माग गरेको छ । चुरे क्षेत्रमा भैरहेको ब्यापक दोहनले पर्यावरणमा पारेको असरलाई रोक्न,प्रदेशमा व्याप्त महिला हिंसा लगायत जघन्य अपराध,कुटपिट,बलात्कार जस्ता घटना बढ्दै गएकाले दोषीलाई पक्राउ गरी कारवाही गर्न र हिंसा न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्न र अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गरी व्यवस्थित र सुरक्षित आवासको हकलाई व्यवहारतः लागु गर्न पार्टीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्