कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो



न्यूयोर्क । 

 कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने छ हजार नाघेको छ ।

अधिकारीहरुका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या छ हजार २३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १०५ पुगेको अधिकारीहरुले जानाकारी दिएका छन् ।

अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो । उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिक रुपमा सयाँै व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ ।

भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ ।

कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ । भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन् ।

इजरायलमा थप नब्बेजना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको सङ्ख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्