समृद्ध बझाङका लागि २५ बुँदे प्रतिबद्धता



नेपाल समाचारपत्र, बझाङ
समृद्धि र विकासका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा दुई दिनसम्म छलफल गरेका जिल्लाका १२ वटा पालिकाका जनप्रतिनिधिहरूले २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
प्रतिबद्धतापत्रमा भ्रष्टाचार र अनियमिततामा संलग्न नहुनेदेखि लिएर दिगो र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने, स्मार्ट गाउँ–शहर बनाउनेसम्मका कुरा समेटिएका छन्।
जिल्लाको समग्र विकासद्वारा सुशासन, सबल लोकतन्त्र, जनताको सम्मान र मर्यादित जीवनको सुनिश्चितताद्वारा ‘समृद्ध बझाङ, सुखी बझाङवासी’ को सपनालाई साकार पार्नका लागि भन्दै जारी गरिएको उक्त प्रतिबद्धता पत्रमा स्थानीय सरकारले आफ्ना कामकारबाही कानुनी राज्यको मान्यता, संवैधानिक सर्वोच्चता, सुशासनको अवधारणाअनुरूप गर्ने उल्लेख गरिएको छ। स्थानीय तहमा सुशासनको अनुभूति दिन पारदर्शी र जवाफदेहीयुक्त प्रणाली अपनाई भ्रष्टाचार र अनियमितता हुन नदिनेतर्पm सजग भई कार्यसम्पादन गर्ने, आर्थिक अनुशासन र सुशासन कायम गर्न आन्तरिक अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने कुरा पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।
नागरिकको सूचना पाउने हकको सम्मान गर्दै सूचना प्रवाह गर्ने व्यवस्था गर्ने/गराउने। सार्वजनिक सुनुवाइलाई नियमित र व्यवस्थित गर्ने प्रतिबद्धता गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लाको विकास र समृद्धिका निम्ति आधुनिक पूर्वाधार विकास र निर्माणमा संघ, प्रदेश र स्थानीय तह एवं अन्य निकायबीच आपसी सहयोग, समन्वय र सहकार्यद्वारा काम गर्ने प्रणालीको विकास गर्ने कुराको समेत प्रतिबद्धता गरेका छन्।
जिल्ला समन्वय समिति बझाङको आयोजनामा तथा प्रतिनिधिसभाका सदस्य आशाकुमारी विकको सक्रियतामा भएको विकास र समृद्धि विषयको छलफल कार्यक्रमको निष्कर्षस्वरूप यो प्रतिबद्धतापत्र जारी गरिएको थियो।
यस्तै, दिगो विकासका निमित्त वातावरणमा सन्तुलन कायम गरी कम लागतमा बढीभन्दा बढी जनतालाई लाभ दिन सक्ने गरी एकीकृत योजना निर्माण गर्ने, योजना बैंकको विकास गर्ने र योजना बैंकमा रहेका योजनाहरूलाई प्रथामिकीकरण गरी संघ, प्रदेश र स्थानीय तहको क्षमता, लागत, प्रभावकारिताका आधारमा वर्गीकरण गरी कार्यान्वयन गर्नेलगायत प्रतिबद्धता पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्