दुई कांग्रेस: छिमेकमा आशा, घरमा निराशा



अरविन्द महतो
दुई कांग्रेस भनेर यहाँ आफ्नै मुलुकको नेपाली कांग्रेस र छिमेकी भारतको राष्ट्रिय कांगे्रसको कुरा उठाउन खोजिएको छ। २०७४ मा नेपाली कांग्रेसले र २०७१ तथा गतसालको लोकसभा निर्वाचनमा भारतीय कांग्रेसले हात पारेको निराशाजनक परिणामको अवस्थाले तुलनाका लागि बल पु¥यायो।

पछिल्लो समय नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा कार्यकर्ता गमला हानाहान गर्ने तर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने मुस्कानका साथ हात उचालेर गुटगत विभाजन समाप्त भएको घोषणा गर्ने रंगमञ्चीय अभ्यासले घरेलु कांग्रेसको भविष्यप्रति निराशा पनि जागृत गरायो।

कांग्रेसको नामले चिनिने भारतीय राष्ट्रिय कांग्रेस भारतका दुई प्रमुख दलमध्ये एक हो। भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसले ठीक त्यसरी नै शासन गर्दै आएका छन्, जसरी नेपालमा नेकपा र नेपाली कांग्रेसले। दुवै एक–अर्काका विकल्प देखिएका छन्। भारतीय कांग्रेस पार्टीको स्थापना अंग्रेजको शासनकालमा भयो भने नेपालमा नेपाली कांगे्रसको स्थापना जहानिया राणा शासनमा– कांगे्रस आई १९४२ सालमा र नेपाली कांग्रेस २००३ मा।

भारतीय राष्ट्रिय कांग्रेसका संस्थापक एओ ह्यूम, दादा भाइ नौरोजी, दिनशा वाचा थिए, यस पार्टीले भारतलाई अंग्रेज शासनबाट मुक्ति दिलाउन भूमिका खेल्यो भने मातृकाप्रसाद कोइरालाले नेपाली राष्ट्रिय कांग्रेस नाम दिएर खोलेको र पछि नेपाली कांग्रेस नाम पाएको पार्टीले अंग्रेजकै पृष्ठपोषणमा शासन गर्ने राणा शासकलाई हटाउन। डेढ करोडभन्दा बढी सदस्य र सात करोडभन्दा बढी अनुयायी भारती कांग्रेसको अगुवाइमा अंग्रेज भगाओ आन्दोलनमा सरिक भए।

वास्तवमा आजको मितिमा नेपाली कांग्रेस विश्वासको संकट भोगिरहेको छ। यस पार्टीले पुनर्जीवन प्राप्त गर्ने कुरामा समर्थकसमेत विश्वास गर्न सकिरहेका छैनन्, आमजनता त अझ टाढाका भए। पार्टीभित्र गुट–उपगुट यसरी झांगिएको छ कि कहिले को कतिखेर कुन गुटमा लाग्छ, थाहा हुन छाडिसकेको छ।
२००४ सालमा अंग्रेजबाट भारत स्वतन्त्र भएपछि कांग्रेस सरकारमा आउनु स्वाभाविक थियो, जस्तो नेपालमा पनि राणा शासनपछि नेपाली कांग्रेस सरकारमा आयो। स्वतन्त्रतापछि २०७१ सालसम्म १६ वटा आमचुनावमा कांग्रेसले आफ्नो प्रभाव साबित ग¥यो, त्यसमध्ये ६ वटा निर्वाचनले त उसलाई सरकारमा पूर्ण बहुमत नै दिलायो। यसरी कुल ४९ वर्षसम्म कांग्रेसले भारतमा शासन ग¥यो।

जवाहरलाल नेहरूबाट शुरू भएको कांग्रेसी प्रधानमन्त्रीको इतिहास मनमोहन सिंहसमेत सात प्रधानमन्त्री बनाएर सकियो। तर २०७१ को निर्वाचनमा भारतीय कांग्रेसले इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन ग¥यो, जसरी नेपालमा २०७४ को चुनावमा नेपाली कांग्रेसले ग¥यो। ५४३ सदस्यीय लोकसभामा ४४ सिट हात पार्ने भारतीय कांग्रेससँग संघीय संसद्का २७५ मा ६३ सिट मात्र ल्याउने नेपाली कांग्रेसको सबै ग्रहदशा समान देखिन्छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार १४औं महाधिवेशनको कार्यतालिका संशोधन ग¥यो। वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्ण सिटौला समूहले २६ मंसिरमा बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि शुरू भएको विवाद माघ १० मा सभापति देउवा निवास बुढानीलकण्ठमा भोज खाएर टुंग्याइयो। १४औं महाधिवेशको मिति २०७७ फागुन ७–१० लाई कायम राखेर अरू तालिका संशोधन गरेपछि कुरा मिल्यो भने तापनि यतिले मात्र विवाद टुंगिएको होइन।

विवाद जुँगाको लडाइँमा अड्किएको थियो, देउवाले पौडेल पक्षलाई घरमै बोलाएर भोजभतेरका साथ ‘सम्मान’ दिएसँगै विवाद टुंगिएको हो। यद्यपि सहमति भयो भनिए पनि सम्पूर्ण अधिकार देउवाकै मुठीमा सुम्पेर विजयको मुस्कान दिन सक्ने वरिष्ठ नेता पौडेलप्रति कार्यकर्ता तथा शुभचिन्तकहरूले दयाभाव देखाएका छन्। बैठकले क्रियाशील सदस्यता छानबिन समिति बनाउने र त्यसको संयोजक र सदस्यहरू भने देउवाले नै तोक्ने भएपछि पौडेलले कसरी सहमतिको मुस्कानका साथ देउवाको हात समाएर हाँस्न सके, रमाइलो विषय छ।

सहमति कमजोर धरातलमा रहेको तथ्य गमला काण्डले संकेत गरिसकेको छ। बुढानीलकण्ठमा भएको सहमतिमा कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका मात्र होइन, नेपाल विद्यार्थी संघको विवाद पनि टुंगो लगाइएको थियो। देउवाले सभापति तोक्ने र आठ महामन्त्री (देउवा र पौडेल समूह ३–३ र सिटौला समूहले २) मा भागवण्डा गर्ने, आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाउने सहमति जुटेको थियो।

तर शीर्ष नेताहरूबीच भएको सहमति अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउँदा नेपाल विद्यार्थी संघका नेताहरूले पार्टी कार्यालयमा नाराबाजी मात्र होइन, गमला हानाहान नै गरे। अर्थात्, नेताहरूको सहमति लोकतान्त्रिक अभ्यासका साथ भएको थिएन, युवा तथा विद्यार्थीको सहमति लिएर

उनीहरूका विषयमा निर्णय लिनुपर्नेमा गरिएको निर्णय उनीहरूलाई यथाशीघ्र जानकारी दिने हदसम्मको व्यवहार पनि अनुशरण गरिएन। परिणामस्वरूप देउवा र पौडेल–सिटौला पक्षमा विभाजित विद्यार्थीले एक–आपसमा कुटाकुट गरेर जग हँसाउने अवस्था सिर्जना भयो। भित्र कांग्रेस कार्यसमिति बैठक बसेर सहमति अनुमोदन गरिरहँदा बाहिर ‘केही समय धैर्य गर, बुढानीलकण्ठमा भएको सहमति अनुमोदन हुँदै छ’ भन्नुपर्ने होइन ? किन यत्ति पनि बुद्धि र सीपको अनिकाल हुँदै आएको नेपाली कांग्रेसका नेताहरूमा’ यस्ता सानातिना विषयमा त नेताहरूको ध्यान पुग्दैन भने पुनः सरकारमा जाने गरी जनतालाई नेतृत्व गर्न उनीहरू सक्षम होलान् भनेर कसरी विश्वास गर्ने ’

गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको परिणामसँगै नेपाली कांग्रेसले प्रसन्नता जाहेर ग¥यो, पहिला कहिल्यै पार्टीले विजय हासिल नगरेको ठाउँमा जितियो भनेर प्रचार गरियो। तर, यो जीत नेपाली कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता पौडेलले उल्लेख्य काम गरेका कारण पार्टीले हासिल गरेको उपलब्धि थिएन, नेकपाको नेतृत्वमा रहेको सरकारका कमजोरी र उसप्रति असन्तुष्टि व्यक्त गर्ने जनताको एक अभ्यास थियो त्यो।

यद्यपि मंसिर २९ गते बसेको नेकपा स्थायी समिति बैठकमा प्रतिवेदन पेस गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘उपचुनावले नेकपालाई विशेष धक्का दिएको’ बताए। तर, यस प्रकारको धक्का दिने सफलता पनि नेकालाई प्राप्त भएको होइन– फतक्क पाकेको बेल काग बसेको बेलामा फ्याट्ट भुइँमा झरेको मात्र हो। नेकपाको विश्लेषणमा उपचुनावले अन्य राजनीतिक दलका साथै उसको पार्टीलाई समेत केही गम्भीर प्रश्न र शिक्षा दियो, खासगरी कास्की, बाग्लुङ र दाङमा नेकपाको विजय उत्साहप्रद भए पनि धरान उपमहानगर र भरतपुर महानगरपालिकाको वडा नं. १६ को पराजयले पार्टीलाई विशेष धक्का दियो।

यस विश्लेषणलाई वस्तुवादी मान्नुपर्छ, निर्वाचन परिणामको विश्लेषण गर्ने कार्यमा पनि नेका सत्ताधारी नेकपाभन्दा कमजोर देखियो। किनभने नेकाले ‘मतदाताको झुकाव आफ्नो पार्टीप्रति बढेको महसुस गर्दै’ पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर प्रसन्नता देखायो। उसले खासगरी भक्तपुर प्रदेशसभाको एक स्थान, भरतपुर महानगरपालिकाको एक वडाअध्यक्ष तथा धरान उपमहानगरपालिकाको प्रमुखमा हासिल भएको विजयलाई ठूलो उपलब्धिका रूपमा व्याख्या ग¥यो।

गुमेका स्थानको समीक्षालाई उसले प्राथमिकता दिएन। जनताको मन जित्नेगरी काम गर्न नसकेकोमा आत्मआलोचना र अझ राम्रोसँग काम गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्नेमा ‘सरकारबाट भएका आचारसंहिता विपरीतका क्रियाकलापका बाबजुद पनि जनमत आफ्नो पक्षमा देखिएको’ विश्लेषण ग¥यो। संख्यात्मक हिसाबले उप निर्वाचनमा कांग्रेसले विगतमा प्राप्त गरेको स्थान पनि गुमाएको यथार्थलाई लुकाउने प्रयास गरियो।

वास्तवमा आजको मितिमा नेपाली कांग्रेस विश्वासको संकट भोगिरहेको छ। यस पार्टीले पुनर्जीवन प्राप्त गर्ने कुरामा समर्थकसमेत विश्वास गर्न सकिरहेका छैनन्, आमजनता त अझ टाढाका भए। पार्टीभित्र गुट–उपगुट यसरी झांगिएको छ कि कहिले को कतिखेर कुन गुटमा लाग्छ, थाहा हुन छाडिसकेको छ।

यही स्तरको दुर्भाग्यपूर्ण स्थिति नभए पनि छिमेकी भारतको कांग्रेस पनि चुनौतीपूर्ण अवस्थामा देखिन्छ। अलिकति समयको फरक मात्र हो, भारतीय कांग्रेस विभाजित भएजस्तै गिरिजाप्रसाद कोइराला सभापति रहेका बेला आजका सभापति शेरबहादुर देउवाले पनि नेपाली कांग्रेस विभाजित गरे। फरकचाहिँ के मात्र देखिन्छ भने, भारतीय कांग्रेसमा पुनर्जीवनका लागि योजना छ, नेपाली कांग्रेससँग छैन। शेरबहादुर देउवा नेतृत्वमा रहेसम्म पार्टीले सिर्जनात्मक छलाङ मार्ला र सफलता हासिल गर्ला भन्ने आशा गर्ने ठाउँ पनि देखिएन।

नेपाली कांग्रेसमा निराशा मात्र छाइरहेको देखिन्छ। पार्टीको हालत यति गएगुज्रेको अवस्थामा पुग्यो कि आगामी महाधिवेशनले देउवाको ठाउँमा रामचन्द्र पौडेललाई ल्याएर मात्र पनि पार्टीका अगाडि तेर्सिएको बाँध फोड्न सकिन्न, यसका लागि निकै तेज र तीव्र गतिको नेता प्रकट हुनुपर्छ, जसको अत्तोपत्तो आजसम्म छैन।

नेका हिजो पनि प्रजातान्त्रिक समाजवाद भन्थ्यो, आज लोकतान्त्रिक समाजवाद भन्छ, उसको मुद्दा जहाँको त्यहीँ मात्र छैन, नेपालका कम्युनिस्टहरूसमेत उसको मुद्दामा आएका छन्। तर, गुट–उपगुटको व्यवस्थापनसम्बन्धी व्यस्तताले यसलाई मुद्दाको सदुपयोग गर्ने समय हुँदैन।

त्यसो त, २००७ सालमा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसमा जन्मसिद्ध दुई धार देखिन्छन्। केन्द्रदेखि वडास्तरसम्मका एकाइहरूमा कम्तीमा दुई धार जीवित पाइन्छ। दलको युवा संगठन नेपाल तरुण दल होस् वा विद्यार्थी संघ नेपाल विद्यार्थी संघ होस्, कम्तीमा दुई धार वा गुट प्रस्ट देखिन्छन्।

गुट संस्कृतिका बाबजुद नेकाले प्रथम निर्वाचन होस् वा २०५६ को संसदीय निर्वाचन होस्– राम्रो सफलता हासिल ग¥यो। २००३ साल माघ १२ र १३ मा प्रथम महाधिवेशन गर्न सफल नेपाली कांग्रेसको अवस्था १४औं महाधिवेशनमा पुग्दा नपुग्दै जुन रूपमा कमजोर देखिएको छ त्यसले सबै शुभचिन्तकलाई निराश बनाएको छ। यस निराशालाई उत्साहमा रूपमान्तरित गर्ने कार्य अरूले गरेर हुन्न, स्वयम् नेपाली कांग्रसभित्रैबाट हुनुपर्छ। यसका लागि बूढो नेतृत्वलाई दौराको फेर समाएर भुइँमा थचार्ने युवा ‘भिजनरी’ नेतृत्व आउनुपर्छ।

अन्यथा अब यति बढी ढिलाइ भैसक्नेछ कि चाहेर पनि नेपाली कांग्रेसलाई कसैले सरकार सञ्चालनको स्तरमा उकास्न सक्नेछैन। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेपाली कांग्रेस पहिलो वा वैकल्पिक शक्तिका रूपमा सदा अग्रभागमा रहनुपर्छ भन्ने जनचाहनालाई गुटभक्त नेताहरूले कहिले बुझिदिने हुन्, हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्