बलात्कार, हत्या र भ्रष्टाचार किन ?



अहिले बलात्कार, हत्या, भ्रष्टाचारलगायतका घटनाले दिन–प्रतिदिन सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन भरिभराउ छ। यी घटनाको अत्यधिक चर्चा–परिचर्चाले समस्या अझै बढ्दै गइरहेको देखिन्छ। फाँसीलगायतका सजायहरूको मागसहितका आन्दोलन गरी समाधानका उपायहरूको वकालत गरिएको छ।

एउटा घटनालाई समाधान गर्ने नाममा अरू अनेकौं घटना (समस्या) हरू सृजना गरिएको छ। वास्तवमा बलात्कार किन हुन्छ, हत्या किन हुन्छ, भ्रष्टाचार किन हुन्छ ? हामी समस्याको बारेमा चर्चा त गर्छौैं, तर समाधानका लागि यी घटनाका पछाडि गुप्त रहस्य र यथार्थ कारणलाई पहिचान गर्ने प्रयास गर्दैनौं।

आज मानिस भौतिक सुखको चाहनामा इच्छाहरूलाई विस्तार गर्दै गइरहेको छ। इच्छाहरूको सहज पूर्तिको अभिलाषासहित कुण्ठित बनेको मानिसले ती इच्छाहरू अतृप्त भएपछि गलत क्रियाकलाप (पाप कर्म) गर्न प्रवृत्त हुन्छ। फलस्वरूप हत्या, बलात्कार, भ्रष्टाचार आदि समस्याको जन्म हुन्छ। यी समस्याको जननी हो अतृप्त चाहना, असीमित इच्छाहरू र अनन्त कामनाहरू। यदि समस्या समाधान गर्ने हो भने चाहना, इच्छा र कामनाहरूलाई अन्त्य गर्नुपर्दछ।

यी सबै गलत कर्मको कारण आत्माभित्रको अज्ञानतारूपी अन्धकार हो, उच्च मनोबलको अभाव हो, श्रेष्ठ लक्ष्यप्राप्तिको शून्यता हो, सत्संग, सत्कर्म र सद्भावको कमी हो। समग्रमा यथार्थ नैतिक, चारित्रिक एवं आध्यात्मिक शिक्षाको कमी हो। जब मानवभित्र कामवासना प्रबल हुन्छ, तब बलात्कार जन्मन्छ। क्रोध प्रबल हुनेबित्तिकै झगडा, हत्या र हिंसाले जन्म लिन्छ। लोभले भ्रष्टाचारलाई जन्म दिन्छ। तनावका कारण डिप्रेसन र तत्पश्चात् सुसाइड जन्मन्छ।

वास्तवमा दोषी को हो भन्ने कुराको सही पहिचान नगरीकन कसरी हामी दण्ड–सजायको वकालत गर्न सक्छौं ? विधिको शासन र न्यायका लागि त कर्म–कारणको सही पहिचान हुनु अति आवश्यक छ। शरीर त केवल साधन हो, कर्म गर्ने माध्यम मात्र हो। फाँसी दिनाले केवल साधनको विनाश हुन्छ, प्रवृत्तिको अन्त्य हुँदैन। समाजबाट विकृति र विसंगतिको अन्त्य हुँदैन। किनकि विकार र विकृतिले डेरा जमाएको छ आत्मामा। आत्मा न मर्दछ, न कसैले मार्न सक्दछ। शरीरको विनाशपछि आत्मा विकृति र विकारसहित अर्को शरीर लिन्छ, केवल अर्को शरीरमा स्थानान्तरण हुन्छ, समस्या यथावत् नै रहन्छ।

आध्यात्मिक शिक्षाले स्वयंभित्र अन्तर्निहित दिव्यतालाई जागृत गर्दछ। आन्तरिक सशक्तीकरणको प्रकटीकरण हुन्छ, ज्ञान प्रकाश प्रदीप्त हुन्छ। समस्त विकार र कमजोरी भष्मिभूत हुन्छन्। जीवनको उन्मुक्त गगनमा आत्मा पक्षी स्वतन्त्र भएर निर्वाद उड्छ। आत्मिक दृष्टिको अभ्यासले एक–अर्कामा दयाभाव, करुणाभाव र स्नेहभावको जन्म हुन्छ। तरबार र बन्दुकका हातहरू होइन, सहयोग र सद्भावका हातहरू उठ्छन्। वासना, घृणा र लोभलाई प्रेम, स्नेह र आत्मसंयमले प्रतिस्थापन गर्दछ।

आध्यात्मिक शिक्षाले हाम्रो पुरानो र गलत मान्यताहरूलाई चुनौती दिन सिकाउँछ। धर्ममा आधारित विश्वासलाई अन्धविश्वासमा परिणत हुन नदिन अनुभवको कसौटीमा कसेर व्यावहारिक र वैज्ञानिक धरातल प्रदान गर्दछ।

आध्यात्मिक शिक्षा सकारात्मक जीवनशैलीको मार्गदर्शक हो। यस शिक्षाअन्तर्गतको राजयोग ध्यानको अभ्यासद्वारा न केवल संकल्प, तर संस्कार परिवर्तनको महानतम् अभ्यासको पृष्ठभूमि तयार हुन्छ। राजयोग ध्यानले एउटा यस्तो अग्नि प्रज्वलित गर्दछ, जसले पुरानो संस्कारको गहिराइमा पुगेर गलत (पाप) कर्मका हरेक कारणहरूलाई भष्म गरिदिन्छ।

स्पष्ट छ, हरेक अन्धकारको समाधान केवल प्रकाश नै हो। जहाँ प्रकाश हुन्छ, त्यहाँ अन्धकार हुँदैन। जहाँ अन्धकार हुँदैन, त्यहाँ बलात्कार, हत्या र भ्रष्टाचार हुँदैन। एक सभ्य, सुसंस्कृत र मूल्यनिष्ठ समाज निर्माणका लागि ज्ञानसूर्य निराकार ज्योतिस्वरूप परमात्मा शिवबाबाले परम शिक्षक बनेर वर्तमान समय आफ्ना आत्मिक सन्तानलाई आध्यात्मिक शिक्षाले आलोकित गर्ने परम कर्तव्य गरिरहनुभएको छ।

अतः परम शिक्षक शिवबाबाको छत्रछायामा बसेर यो शिक्षालाई ग्रहण गरौं। जीवनमा सबै प्रकारका अन्धकारहरूलाई सदाका लागि समाप्त गरौं। कहिल्यै नभुलौं, आध्यात्मिक शिक्षाले प्रशिक्षित व्यक्तिमाथि उल्लिखित पापकर्ममा कहिल्यै प्रवृत्त हुँदैन। यही परमात्माको सन्देश हो र आदेश पनि।

– प्रदीप रेग्मी 
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, पोखरा।  

सर्पको टोकाइबाट यसरी बचौं 

यहाँ पाइने जीवहरूमध्ये सर्प अति नै खतरनाक हुन्छ। यसले मानिसलाई डसे तुरुन्तै मृत्यु हुनसक्छ। विषालु सर्पबाट जोगिन अति आवश्यक छ। विश्व स्वास्थ्य संगठनको सन् २०१५ को प्रतिवेदनानुसार नेपालमा वार्षिक कम्तीमा २ सय जनाको ज्यान सर्पको डसाइका कारण जाने गरेको छ। सर्पदंशको सही उपचार पद्धति अवलम्बन नगरेकै कारण स्वास्थ्य क्षेत्रको जटिल समस्याका रूपमा रहँदै आएको विज्ञहरूको अध्ययनले देखाएको छ। सर्पले डसेको भन्ने पुष्टि गर्नतर्फ लाग्नुभन्दा पनि बिरामी वा प्रत्यक्षदर्शीको भनाइलाई नै आधार मानेर ‘एन्टी स्नेक भेनम’ अर्थात् प्रतिविष तत्काल शुरू गर्न ध्यान नदिएकै कारण समस्या विकराल हुने गरेको देखिन्छ।

नेपाल सरकारले सर्पदंश व्यवस्थापनका लागि आर्थिक वर्ष २०५६/५७ देखि देशभर स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको छ। सर्पले डसेको भनेर बिरामी आएपछि तत्काल प्रतिविष शुरू गर्दा फरक पर्दैन तर उसलाई चिकित्सककै निगरानीमा राख्न भने आवश्यक पर्छ। प्रतिविष दिइएका केही बिरामीलाई एलर्जीको समस्या पनि देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ।

विषालु सर्पका प्रजातिमध्ये करेत र गोमनका प्रजाति चितवनमा अधिक पाइन्छन्। करेतका ६ समूह प्रजाति र गोमनका ३ प्रजातिले डसेका बिरामीलाई तत्काल अस्पताल पु¥याउन नसके अवस्था जोखिममा पर्न सक्छ। सर्पले डसेको बिरामीले बमन गरेको भए, त्यो डसाइ करेत सर्पकै हो भन्ने बुझ्नुपर्छ। आँखा लठ्ठिँदै जाने, जिब्रो लरबराउनेजस्ता लक्षण देखा परे अस्पताल पु¥याउँदासम्म बिरामीलाई अचेत हुनबाट रोक्न निरन्तर बोलाइराख्न र जागा बनाइराख्नुपर्छ।

गोमन सर्पका केही समूह प्रजाति समुद्री सहतबाट ३२ सय मिटर उचाइसम्म पनि भेटिएका छन्। यसबाट बच्न गर्मी मौसममा सकभर सम्भावित ठाउँमा हिँड्दा सचेतता अपनाउने, रातको समयमा पनि उज्यालोको व्यवस्था गरेर हिँड्ने, यदि सर्पले डसिहाले बिरामी नआत्तिने, आफूलाई सर्पले डसेको बारे नजिकै रहेका आफन्तलाई खबर गर्ने, बिरामीलाई प्राथमिक उपचार गर्दै जति सक्दो छिटो सर्पदंशका लागि आवश्यक औषधि प्रतिविष उपलब्ध स्वास्थ्य संस्थामा लैजाने गर्नुपर्छ।

– रमिला केसी, बर्दिया। 

प्रतिक्रिया दिनुहोस्