एनओसीको कार्यकारी निर्देशकमा राजवैद्य



नेपाल समाचारपत्र, काठमाडौं  

पोखरामा बसेको ओलम्पिक कमिटीको बैठकले नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्यलाई नियुक्त गरेको छ।

ओलम्पिकको विधानको च्याप्टर ९ को ३७ दशमलव १ मा रहेर दैनिक कार्यलाई व्यवस्थित र सुचारु गर्नका लागि वैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। चतुरानन्द हाल नेपाल ओलम्पिक कमिटीमा उपाध्यक्षका रूपमा पनि रहेका छन्।

त्यस्तै, सो बैठकले सल्लाहकारमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै, वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कानुनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।

यसका साथै कमिटीले आफ्नो वार्षिक साधारणसभामा ओलम्पिक अभियानमा योगदान गर्ने चारजना पत्रकार, तीनवटा संघ र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई अवार्ड दिने भएको छ। जसको पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ।

त्यस्तै, खेलकुद क्षेत्रमा निरन्तरका लागि राष्ट्रलाई चिनाउन सफल भएका खेलाडीको खेल जीवनपछिको भविष्य सुनिश्चित गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर अध्ययन समिति बनाएको छ।

यस्तै, कमिटीले प्रत्येक दुई वर्षमा ओलम्पिक कंग्रेस गर्नेलगायतका निर्णय रहेका छन। यस्तै, पूर्वमहासचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ।

यस्तै, नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको पदाधिकारीका तर्फबाट थप पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। पछिल्लो केही वर्षदेखि उपचारमा रहेका शेर्पाको उपचारका लागि ओलम्पिकको बोर्ड बैठकले कुल १० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यसका साथै उनको उपचारका लागि नेपाल सरकारसँग पनि सहयोगका लागि आग्रह गरेको छ।

बैठकले प्रदेश–१ संयोजकमा पिताम्बर तिम्सिना, प्रदेश–२ मा अशोकरत्न बज्राचार्य र सदस्यमा रामजीबहादुर श्रेष्ठ, प्रकाश शमशेर राणा, बाग्मती प्रदेशमा सुनिलबहादुर श्रेष्ठ संयोजक, गण्डकी प्रदेश संयोजकमा तेजबहादुर गुरुङ, सदस्यमा तासी घले, प्रदेश–५ संयोजकमा कुमारी तुलसी थापा, संयोजक र दिर्घबहादुर केसी सदस्य, कर्णाली प्रदेश संयोजकमा दीपकहर्ष बज्राचार्य, र सुदूरपश्चिम प्रदेश संयोजकमा रतन तण्डनलाई तोकेको छ।

प्रतिक्रिया दिनुहोस्