महासंघद्वारा घोषित कार्यक्रम स्थगन



काठमाडौं, (नेस)

कोरोनाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमलाई स्थगन गरेको छ। सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सवलगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आह्वान गरिसकेको हुँदा महासंघले घोषित कार्यक्रमहरु स्थगित गरेको हो।

महासंघद्वारा घोषित कार्यक्रमअन्तर्गत चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए। कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पुँजीमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग धरासयीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ।

संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकाले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताउनुभयो।

यसैगरी नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिक सुरक्षाका लागि मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उहाँले बताउनुभयो।

कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरू केही समय रहेमा उद्योग बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगले कर्मचारी तथा मजदूरलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको व्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ।

कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनुपर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने महासंघले जनाएको छ।

उद्योग नवीकरण गर्ने म्याद हाललाई कम्तिमा छ महिना थप गरि नवीकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयां उद्योग संचालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालिम प्रदान गर्नुपर्ने महासंघको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्