कृषकलाई अनुदानमा हाते ट्याक्टर



स्याङ्जा, (नेस)

जिल्लाको भीरकोट नगरपालिकामा प्रविधियुक्त कृषि प्रणाली शुरू गर्न किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको छ। ५० प्रतिशत नगरपालिकाले र ५० प्रतिशत किसानले व्यहोर्ने गरी नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको हो।

३२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको भीरकोट नगर प्रमुख छायाँराम खनालले बताउनुभयो। कृषिमा काम गर्ने जनशक्तिको अभाव हुन थाल्यो नगर प्रमुख खनालले भन्नुभयो–‘किसानको लागि हाते ट्याक्टर बहुउपयोगी देखिएकाले यो अभियान शुरू गरेका हौं।’

व्यावसायिक खेती गरेर कृषिमा आत्मनिर्भर बनाउन हाते ट्याक्टरको सदुपयोग गर्नुपर्नेमा खनालको जोड थियो। भीरकोट कृषिको पकेट क्षेत्र भएकाले किसानलाई सहजता होस् भन्ने उद्देश्यले नगरपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको खनालले बताउनुभयो।

तपाईहरु उत्पादन गर्नुहोस् खनालले भन्नुभयो–‘बजारको व्यवस्था नगरपालिकाले गर्छ।’ कृषि उपज उत्पादनको बजार पाइएन भनेर निरासा हुने अवस्था नरहेको खनालको दाबी छ।

नगरपालिकाले किसानले उत्पादन गरेको वस्तु आफैंले बेच्न पाउने व्यवस्थासहित हरेक शनिबार हाट बजार नै सञ्चालनमा ल्याएको छ। किसान आफैंले उत्पादनको बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि कृषि उपजमा बिचौलियाको बिगबिगी कम भएको छ। बिचौलियाका कारण किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाएका थिएनन्।

भीरकोटका गाउँका सबै खेतबारी बाँझो नराख्न भीरकोट उपप्रमुख सिमा केसी कर्माचार्यले कृषकलाई आग्रह गर्नुभयो। केसीले हाते ट्याक्टरको उच्चतम् प्रयोग गरी उब्जनीलाई बढाउन सक्नुपर्ने बताउनुभयो।

नगरपालिका जहिले पनि काम गर्ने किसानको पक्षमा रहने केसीको भनाइ थियो। भीरकोट नगरपालिकाले कृषि र पर्यटन क्षेत्रमा लगानी गरी यहाँका नागरिकलाई आयआर्जन गर्ने अभियानको थालनी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्