पढ्नलाई उमेरले रोक्दैनः ९ प्रौढ महिला एसईईमा सहभागी हुँदै



पुष्कर बुढाथोकी, भक्तपुर ।

 

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालय विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलताका साथ पुरा गर्न सकिन्छ । मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेकोमा हालसम्म सातौं व्याचले एसईई दिइसकेका छन् भने अहिले आठौं ब्याच बिहीबारदेखि सुरु हुने एसईईमा सहभागी हुँदै छन् ।यहाँबाट हालसम्म २०५ जनाले एसईई दिई सकेका छन् ।

 

वि.सं. २०७६ सालको एसईई परीक्षामा यो विद्यालयबाट ९ जना सामेल हुँदै छन् । त्यही समुहमा हुनुहुन्छ ,३५ बर्षिया मिरा सिलवाल । उहाँ मोर्डन स्कुलमा पढ्ने छोरी प्रसिद्धिका सिलवालसँग एसईई दिँदै हुनुहुन्छ । पढाई छुट्दा पनि फेरि एसईई पास गर्ने भित्री ईच्छाले ९ कक्षामा भर्ना भई पढाईलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

 

एसईईको तयारी गर्न छोरीले समेत पढाईमा सघाउने गरेको बताउँदै मिराले एसईई को तयारी मेहनतका साथ गरिरहेको र यसपछि पनि १२ कक्षा पढ्ने र जागिर खाने दृढता व्यक्त गर्नुभयो । पढाईमा श्रीमानको बिशेष सहयोग पाएको उहाँको भनाई छ ।

 

त्यसैगरी बालकोट बस्दै आएकी ४२ बर्षिया शारदा खड्का पनि घरका सबैले पढेपछि आफुलाई पनि पढ्ने रहर र कर जागेको बताउनुभयो ।शिक्षा अभावका कारण दैनिक ब्यबहारमा कठिनाई भए पछि पढाईको महत्व बुझेको उहाँको भनाई छ ।

 

यसैगरी यही बिद्यालयबाट एसईई दिनेहरुमा रहेकी काँडाघारीकाी ३० बर्षिया सुस्मिता मगर दैनिक बिहान २ बजे उठ्नुहुन्छ, खाना बनाउने लगायत घरको बिहानको काम सक्नुहुन्छ र दौडिनुहुन्छ पढ्न । उहाँको यो नियमित दैनिकी हो । उहाँ पनि यस बर्षको एसईई परीक्षामा सामेल हुँदै हुनुहुन्छ । गलैंचा बुन्दै पढाईमा सकृय सुस्मिता भन्नुहुन्छ,फेरि गलैंचा बन्नु नपरोस्,पहिला पढाई नहुँदा जीवनमा धेरै दुख पाईयो ।

 

रामेछाम घर भएकी ३६ बर्षिया दिलमाया मानन्धर,झापा घर भएकी संझना थापा,काभ्रेकी ३५ बर्षिया चिनीमाया तामाङ लगायत यही बिद्यालय आसपास बस्दै यहीं पढेर एसईईमा सहभागी हुँदैहुनुहूनछ । विद्यालय शिक्षाबाट बञ्चित धेरै महिलाहरुले शिक्षाको ज्योति यहिबाट प्राप्त गरेका छन् । गत बर्ष १७ जनाले एसईई दिएका थिए ।

 

हाल विद्यालयले आभारभूत तहका विद्यार्थीसँग सामान्य शुल्क लिने गरेको निमित्त प्रार्चाय विना देउजाले जानकारी दिनुभयो । अर्काको घरमा काम गरेर, घरको काम सकेर छोराछोरीलाई विद्यायल पढाउदैं आफु पनि पढ्नेहरु नै यहाँ आउने गरेका छन् । हाल आधारभुत देखि १० कक्षा सम्ममा गरेर २ सय जना महिलाहरु विद्यालयमा अध्ययन गर्दैछन् ।

 

शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले सञ्चालन भएपनि हालसम्म आफ्नै भवन नहुँदा भाडाको घरमा विद्यालय चलिरहेको बिद्यालय ब्यबस्थापन समितिका शिक्षक प्रतिनिधि रबिता कार्कीको भनाई छ ।

 

विद्यालयकी निमित्त प्रार्चाय देउजाका अनुसार हाल १४ जना शिक्षिकाहरु कार्यरत छन् । जसमा दुई जनामात्र सरकारी तलब लिने छन् । विद्यालय सञ्चालनको लागि मध्यपुरथिमि नगरपालिकाले पनि वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएको छ । बिगतमा जिल्ला शिक्षा कार्यालयको सहयोग रहेको थियो । आश्वासन धेरैतिरबाट पाए पनि सहयोग भने प्राप्त गर्न नसकेको उहाँको भनाई छ ।

 

यहाँ पढ्ने धेरैको सानोमा बिहे भएर, गरिबीका कारण र आर्थिक अभावका पढाई छुटेको भनाई छ । प्रत्येकका आ–आफ्नै किसिमका दुखका कथा छन् ,तर पनि उनीहरुको पढाई प्रतिको लगनशीलता, रुचि र चासो देख्दा पढ्नलाई उमेरले छेक्दैन् भन्ने पुष्टि भइसकेको छ ।
.

 

विद्यालयकी संस्थापक प्राचार्य पार्वती ज्ञवालीले प्रौढ उमेरमा यहाँ पढेकाहरु मध्य कतिपय हाल शिक्षण, भेटनरी लगायतका बिभिन्न पेशामा आबद्ध हुनुका साथै कतिपय उच्च शिक्षा हासिल गर्दै रहेको बताउनुहुन्छ ।

 

सीता, योगमाया, पासाङ ल्हामु, झमक घिमिरे, अनुराधा कोईरालालगायतका अगुवा महिलालाई आफ्ना आदर्श मान्दै अगि बढेको बिद्यालयले समाबेशी, न्यायपुर्ण समाज र महिला सशक्तिकरणमा चालेको पाईला उल्लेखनीय रहेको सरोकारवालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्