फागुन मसान्तसम्म प्रदेश १ सरकारको बजेट खर्च २८ प्रतिशत



सरोज यादव, विराटनगर ।

प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा करिब २८ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकारले फागुन मसान्तसम्ममा २७.९३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ अर्ब २० करोड रुपैयाँ बजेट मध्ये फागुन मसान्त सम्ममा ११ अर्ब ७८ करोड रुपैयाँ बजेट खर्च भएको हो । प्रदेश सरकारले साँढे ३१ प्रतिशत पूँजीगत र २३ प्रतिशत चालु बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ छुट्याएकोमा फागुन मसान्तसम्म ७ अर्ब ४५ करोड ८९ लाख ३३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी अन्तिमकुमार आचार्यले जानकारी दिनुभयो आचार्यका अनुसार प्रदेश सरकारका मन्त्रालय मध्ये सबै भन्दा बढी पूँजीगत खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४८ दशमलव ८३ प्रतिशत खर्च गरेको छ । यस्तै सबै भन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ दशमलव २७ प्रतिशत पूँजीगत खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ दशमलव ६६ प्रतिशत , उद्योग वन तथा वातावरण मन्त्रालयले ६.२९ प्रतिशत खर्च गरेको छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले ३६ दशमलव ९० प्रतिशत,सामाजिक विकास मन्त्रालयले १०.१० प्रतिशत पूँजीगत खर्च गरेको छ । मूख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ६.८१,मुख्य न्याधिवक्ताको कार्यालयले ८३ दशमलव २३,प्रदेश योजना आयोगले ७ प्रतिशत र प्रदेश व्यवस्थापिका सचिवालयले ३२ दशमलव ३० प्रतिशत पूँजीगत खर्च गरेको छ ।

यस्तै चालु खर्च तर्फ प्रदेश सरकारले २३.२३ प्रतिशत खर्च गरेको छ । चालु तर्फ कुल १८ अर्ब ६२ करोड बजेट विनियोजन गरेकोमा ४ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । चालु तर्फ सातवटा मन्त्रालय मध्ये उद्योग वन तथा पर्यटन मन्त्रालयले सबै भन्दा बढी ३४ दशमलव ५८ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्