नेपाल मेडिकल काउन्सिलले गर्यो चिकित्सकको लाइसेन्स परिक्षा स्थगित



भगवती तिमल्सिना,काठमाडौ।

नेपाल मेडिकल काउन्सिलले चैत्र ८ मा लिने तयारी गरेको एमबीबीएस र बीडीएस तहको सरकारसँग अनुमती लिने ( लाइसेन्स) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सतर्कता अपनाउन परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमण विश्वयापी महामारी फैलिएको र नेपाल उच्च जोखिमको सूचीमा रहेको अवस्थामा सतर्कता नै पहिलो विकल्प हो भन्दै परीक्षा स्थगित गरेको बताउनुभयो । परिक्षाका लागि १ हजार ६० जनाले आवेदन दिएका थिए । काउन्सिलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको सल्लाहकै आधारमा स्थगित गर्ने निर्णय गरेको पनि डा.अधिकारीले बताउनुभयो ।

डा. अधिकारी भन्नुहुन्छ—विगतमा चीनमा कोरोना भाईरसले देशनै आक्रान्त भैरहदा अमेरिका, युरोप जस्ता मुलुकले गम्भिर रुपमा नलिएकै कारण आज विश्व व्यापी रुपमा महामारीको रुप लिएको हो र नेपालले पनि यस बिषयमा हाम्रोमा आएको छैन भनेर त्यस्तै कमजोरी नदोहोर्याओस् ।

उहाँ थप्नुहुन्छ—सरकारले एसईई परिक्षा लिने जोखिम मोलेको छ । यस्तो अवस्थामा सतर्कता अपनाई बिद्यार्थीलाई टाढा टाढा सेन्टर पार्नु भन्दा पनि जुन जुन विद्यालयमा पढेका हुन त्यहिबाट परिक्षा दिने वातावरण बनाएको भए बुद्धिमानी हुने थियो । यो सरकार आफैले खतरा निम्त्याउने कार्य गर्दैछ । अहिलेको अवस्था भनेको कोरानाको प्रवेश हुनै नदिने हो आई हाल्यो भने कसैको बुताले रोक्न सकिन्न र ठूलो क्षति हुनेछ । काउन्सिले लाइसेन्स परिक्षा स्थगित सचेतना फैलाउने कार्यका लागि तयारी गर्ने समेत निर्णय गरिएको डा.अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्