झापामा एसईई दिने १६ हजारभन्दा बढी



उत्तम नेपाल,भद्रपुर ।

झापामा १६ हजार १ सय ४३ विद्यार्थीले यस वर्षको एसईई दिने भएका छन् । सामुदायिक विद्यालयका १ सय १८ र संस्थागतका २ सय २३ विद्यालयका विद्यार्थीहरु परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ । नियमित तर्फ १५ हजार ८ सय २ र बाँकी ग्रेडबृद्धिका ३ सय ४१ विद्यार्थीले परिक्षा दिने इकाइका शाखा अधिकृत दुर्गेन्द्र न्यौपानेले बताउँनुभयो ।

जिल्लामा एक÷एक वटा प्राविधिक धार र ग्रेडबृद्धि गरी ५५ वटा केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो । प्राविधिक धारतर्फ ग्रेडबृद्धि १ जना गरी सरस्वती मावि वुट्टाबारीबाट ३ सय ८३ र महेन्द्ररत्न मावि विर्तामोडबाट ३ सय ४१ जनाले ग्रेडबृद्धिको परिक्षा दिने भएको इकाइका शाखा अधिकृत शिवप्रसाद घिमिरेले बताउँनुभयो ।

यो पटक झापा कारागारबाट समेत ४ जनाले परिक्षा दिने उहाँले जानकारी दिनुभयो । झापामा मदरसा,गुम्बा लगायतबाट एसईई दिने विद्यार्थी नभएको उहाँले बताउँनुभयो । परिक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको सो इकाइले जनाएको छ ।

६ सय ६० जना प्रहरी परिचालन

परिक्षालाइ व्यवस्थित बनाउन ६ सय ६० जना सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताउँनुभयो । जनपथ र सशस्त्र प्रहरीले ५५ वटा केन्द्रका लागि जनपथबाट सइ या असइको नेतृत्वमा ३ सय ८५ जना प्रहरी रहने उहाँको भनाइ छ ।

प्रश्नपत्र नजिकको प्रहरी कार्यालयमा व्यवस्थापन गरिसकिएको उहाँले जनाउँनुभयो । यता सशस्त्र प्रहरीले पनि प्रत्येक केन्द्रमा ५ जनाका दरले २ सय ७५ जना प्रहरी खटाउने सशस्त्र प्रहरी गण नम्बर २ का सुचना अधिकृत कृष्ण कुमार श्रेष्ठले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्