कोरोना त्रास : नेपाल–भारत मैत्री बस सेवा बन्द



धनगढी । 

कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताउनुभयो ।

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताउनुभयो । लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको सङ्ख्या घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताउनुभयो । धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताउनुभयो । पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।

रोकथामको प्रयास

कैलाली त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शङ्कास्पद बिरामी राख्न क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले यसबाहेक वडा प्रहरी कार्यालय धनगढी नजिक रहेको अर्को भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको बताउनुभयो ।

कोरोनाका शङ्कास्पद बिरामी फेला परेमा यस्ता बिरामीको तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान त्रिनगर भन्सार नाकामा एम्बुलेन्स तयारी हालतमा राखिएको छ । कैलालीको खक्रौला सीमा नाकाको हकमा टीकापुर अस्पतालमा एम्बुलेन्स तयारी हालतमा राखिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँच वटा ‘आइसोलेसन‘ कक्षको व्यवस्था गरिएकोमा भेन्टिलेटरसहितको थप कक्षको व्यवस्था गर्न पहल गरिएको छ । सुदूरपश्चिम प्रदेशका भारतसँग नजिक रहेका त्रिनगर, खक्रौला लगायतका सीमा नाकामा सञ्चालन गरिएका ‘हेल्थ डेस्क’ मार्फत नेपाल–भारततर्फ आवागमन गर्नेको स्वास्थ्य जाँच नियमित रुपमा गर्ने गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोराना भाइरस रोग निगरानी तथा रोकथामका लागि हेल्थ डेस्क सञ्चालन मार्गदर्शन तयार पारेर सोही आधारमा आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्