कालिकोटमा वडाध्यक्षमाथि जातीय छुवाछुत,प्रहरीमा उजुरी



कालीवहादुर मल्ल,कालिकोट ।

नरहरिनाथ गाउँपालिका –७ का दलवहादुर वुढाले सोहि वडाका अध्यक्ष ३६ वर्षीय दलवहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेका छन् । आरोपी वुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले मंगलबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराउनु भएको छ । आरोपी वुढाले फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज र जातीय विभेदित शब्द प्रयोग गरेको पीडितले उजुरीमा उल्लेख गर्नु भएको छ ।

कार्यलय समयमा वडा कार्यालयमै डुम कमारा वडाध्यक्ष भएदेखि धारो पधेरो छुने,घरभित्र पस्ने भन्दै गाली गलौज गर्नुका सुाथै हातपात समेत गरेको पीडित विकले बताउनु भयो ।
वडा अध्यक्ष विश्वकर्माका अनुसार पूर्वप्राविधिक सहायक समेत रहेका आरोपी वुढाले कार्यालयमा वडाध्यक्षकै कार्यकक्षमा आई कुटपिट गर्नुका साथै जातीय भेदभावको शब्द प्रयोग गरेका थिए ।

पीडितको आर्थिक अवस्था कमजोर भएकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, साझा परियोजनाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको छ । पीडितको न्यायको पहुचसम्म पुग्नसक्ने आर्थिक अवस्था नभएकाले २५ सय उजुरी लेखाउने खर्च आउँदा जादा खाना खर्च उपलव्ध गराइएको संघका जिल्ला संयोजक चित्रवहादुर विश्वकर्माले वताउनुभयो ।

जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवाहार सम्वन्धी जाहेरी आएकाले आराेपीलाई पक्राउ गरी अनुसन्धान गर्ने कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले वताउनु भयो ।
आरोपी वुढाले आफूले जातीय विभेद नगरको प्रतिक्रिया दिएका छन् ।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनिय व्यवस्था गरेको छ । जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्