पनौती ट्रिपर काण्ड: ‘क्षतिपुर्ति हैन कानुनी कारवाही’, अझै हटेन कर्फ्यु



मोतीराम तिमल्सिना, काभ्रे । 

पनौतीमा सोमबार टिपरले किचेर मारेका आमा छोरीका आफन्तले क्षतिपुर्ति भन्दा चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन् ।

प्रशासनले प्रतिवद्धता जनाएसँगै शव परिक्षण गरिएको छ । पीडितका श्रीमान मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किए लगत्तै शव बुझेर अन्त्येष्टी गरिने सहमति भएको छ ।

‘मान्छे मारे पछि क्षतिपुर्ति लिएर चालकलाई उन्मुक्ति दिने कुराको अन्त्य गर्ने प्रस्ताव पीडितका तर्फबाट आयो’, नेकपा नेता तथा खानिखोला गाउँपालिकाका इन्द्रबहादुर थिङ्ग ‘छिन्ताङ्क’ ले भन्नुभयो ,‘पीडितको माग अनुसार प्रशासनले कारवाही गर्ने र कानुन अनुसारको क्षतिपुर्ति ब्यवसायीले उपलब्ध गराउने सहमति पश्चात शव बुझ्ने निर्णय भएको हो ।’

पीडितका श्रीमान क्षिरिङ्ग भोलोनले मलेसियाबाट फोन गरी क्षतिपुर्ति नभई चालकलाई कडा कारवाही गर्न अनुरोध गर्नु भएको थियो । प्रशासनले पीडितका नाममा स्थानीयहरुले गरेको आन्दोलनले उग्र रुप लिए पछि लगाएको कफर््यु हटाउने विषयमा छलफल गरिरहेको जानकारी दिएको छ । कर्फ्युका कारण पनौती क्षेत्र भित्रका सबै विद्यालयमा कक्षा ८ को नगर स्तरीय र अन्य केहि विद्यालयमा अन्य तहको परीक्षा समेत हुन सकेन ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट पनौती बसपार्कमा खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका भोलोनको मृत्यु भएको थियो ।

अझै हटेन कर्फ्यु

प्रहरी र स्थानीय बीचको झडपमा प्रहरी सहित केहि स्थानीय घाईते भए पछि प्रशासनले विहान ९ बजे देखि लगाएको कर्फ्यु अझै हटेको छैन । प्रशासनले तत्काल कर्फ्यु नहट्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले स्थित विश्लेषण गरेर मात्रै कर्फ्यु हटाउने जानकारी दिनु भयो । कर्फ्यु क्षेत्रमा प्रहरीले गरेको कडाईका कारण स्थानीय औषधी पसलहरु समेत बन्द भएका छन् । विरामीहरुले औषधी समेत खरिद गर्न नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्