म्याग्दीबाट १४ जना परीक्षार्थी एसइई दिनबाट बञ्चित, तयारी अन्तिम चरणमा



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीका १४ जना विद्यार्थीहरु यसवर्ष सञ्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट अयोग्य भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बिचैमा छाडेका, विदेश गएका, परीक्षा फाराम नभरेका, बिहे गरी अन्यत्रै गएका कारण उनीहरु परीक्षा दिनबाट अयोग्य ठहरिएका हुन् । एसइई परीक्षा दिन नपाउनेमा छात्रा ९ र छात्र ५ जना रहेका शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

इकाइका अनुसार बेनी नगरपालिकाका ५ जना, अन्नपूर्ण गाउँपालिकामा ४, रघुगंगाका ३ र मालिका तथा धवलागिरी गाउँपालिकाबाट एक÷एक जना विद्यार्थी परीक्षा दिनका लागि अयोग्य रहेका छन् । यसैगरी बिहीबार (पर्सि) देखि अर्थात् चैत ६ गतेबाट सुरु हुन गैरहेको एसइई परीक्षामा म्याग्दीबाट कुल २ हजार १ सय ९७ जना विद्यार्थीहरु सहभागी हुँदैछन् ।

यस वर्षको एसइई परीक्षामा १ हजार १ सय १० जना छात्रा र १ हजार ८७ जना छात्र गरी कुल २ हजार १ सय ९७ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । एसइई परीक्षा दिने विद्यार्थीहरुमध्ये नियमिततर्फ २ हजार १ सय ५५, ग्रेडवृद्धि १७, खुलातर्फ १६ र प्राविधिक धारतर्फ ९ जना रहेको उहाँले बताउनुभयो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा एसइई परीक्षा सञ्चालनका लागि ९ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि आवश्यक सबै तयारीलाई अन्तिम चरणमा पु¥याइएको छ । जिल्लामा सामुदायिक, संस्थागत र खुला गरी कुल ७१ ओटा विद्यालयबाट विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुने भएका छन् ।

एसइई परीक्षा सञ्चालनका लागि बेनी नगरपालिकाभित्र प्रकाश माध्यमिक विद्यालय, बेनी सामुदायिक मावि, धौलागिरी मावि सिङ्गा र न्यु वेष्ट प्वाइन्ट आवासीय माविलाई केन्द्र तोकिएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिकामा मुक्तिमार्ग मावि घार, रघुगंगाको मुक्तिधाम मावि राखुभगवती, मंगलाको मंगला मावि बाबियचौर, मालिकामा जनप्रिय मावि दरबाङ र धवलागिरीमा हेम मावि सिबाङलाई परीक्षा केन्द्र तोकिएको छ ।

यसैबीच परीक्षा सञ्चालन गर्नका लागि केन्द्राध्यक्षहरु चयन गरिसकिएको छ भने उनीहरुलाई अभिमुखीकरण समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थापाको भनाइ छ । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका र प्रश्नपत्रहरु सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको भन्दै उहाँले परीक्षामा होम सेन्टर भने नराखिएको बताउनुभयो । परीक्षामा छात्राका लागि आवश्यक सेनेटरी प्याड यसवर्ष सम्बन्धित स्थानीय तहबाट व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्