लमजुङमा १४ हजार बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा यहि चैत्र महिनामा दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । चैत्र ८ देखि दादुरा रुवेला खोप अभियानमा जिल्लाका करिब १४ हजार चारसय १८ बालबालिकलाई दादुरा रुवेला विरुद्धका खोप लगाइने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा दादुरा रुवेला सम्वन्धी रोग शुन्यमा पुर्याउने लक्ष्य भएपनि त्यस्तो अवस्था नभएकोले नियमित खोप बाहेक अभियाननै सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालय प्रमूख अमर दवाडीको भनाई छ । दादुरा रुवेला रोग निवारणका लागि राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा दुई चरणमा पाँचौ राष्ट्रिय दादुरा रुवेला खोप अभियान हुने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार अगामी चैत्रको ८ देखि १६ गते र चैत २१ देखि ३० गतेसम्म गरी दुई चरणमा अभियान सञ्चालन हुने भएको हो ।

पहिलो चरणको अभियानमा बेसीशहर नगरपालिका, सुन्दरवजार नगरपालिका, दोर्दी र मस्र्याङदी गाउँपालिकामा खोप अभियान चल्ने छ भने दोश्रो चरणमा मध्यनेपाल, राईनास नगरपालिका, क्होलासोँथार र दुधपोखरी गाउँपालिकामा अभियान हुने जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमूख अमर दवाडीले बताउनुभयो ।

खोप अभियानका लागि जिल्लामा तिनसय २५ स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी छ । जिल्लाका ६३० खोप केन्द्रमा प्रत्येक केन्द्रमा दुईजना स्वास्थ्य स्वयंसेविका पनि परिचालनको तयारी गरीएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसअघि जिल्लामा सन २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो । तर दादुरा रोग नियन्त्रणका लागि सरकारले राखेको लक्ष्य प्राप्त नभएपछि पुन अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरारुवेला विरुद्धको खोप बच्चा जन्मिएको ९ महिना र १५ महिनामा गरी अनिवार्य दुई पटक लगाउनुपर्छ ।

जिल्लाको तथ्याँक अनुसार ७० प्रतिशत बालबालिकाहरुले पहिलो चरणको दादुरा खोप लगाएका छन् भने ७६ प्रतिशतले दोश्रो चरणको दादुरा खोप लगाएको पाइएको छ । यसअघि लमजुङलाई २०७३ सालमा पुर्ण खोप सुश्चित जिल्ला घोषणा गरिसकिएको छ । सोहि आधारमा जिल्लाका कुनैपनि बालवालिकाहरुलाई कुनै खोप छुटेको छैन भन्ने मान्यता राखिएको स्वास्थ्य कार्यालयको दावि छ । सरकारले गर्भवती आमा, बच्चा जन्मने बित्तिकै र ५ वर्षमुनिका बालबालिकालाई हाल ११ प्रकारका खोप विभिन्न रोगका विरुद्ध निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्