कोरोना कहर: कालोबजारी र सामाजिक सञ्जाल आतङ्कविरुद्ध जाग्यो भक्तपुर



पुष्कर बुढाथोकी, भक्तपुर । 

कोरोना भाइरस (कोभिड–१९) र यसकै कारण देखा पर्न लागेको कालोबजारीलाई रोक्न र आगामी योजना निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठकले जिल्लादेखि वडा र टोलटोलसम्म सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा बोल्दै पुर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले शीघ्र जिल्लाका ४ वटै नगरपालिकामा तत्काल बिपद ब्यबस्थापन समितिको बैठक राख्नुपर्ने बताउनुभयो । सांसद बस्नेतले संभावित बिपद्को पुर्व तैयारीका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, संचारक्षेत्र, सुरक्षाकर्मी, स्वयम्सेवक लगायत सबैको सकृयता आवश्यक रहेको बताउनुभयो ।

बागमति प्रदेश सांसद शशिजंग थापाले अहिले देशमा कोरोना,कालोबजारी र सामाजिक संजाल र फेसबुक मार्फत सुचाना आतंक फैलिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिंदै कोरोना नियन्त्रणका लागि सचेतता र धैर्यता आवश्यक रहेकोमा जोड दिनुभयो ।
अर्का बागमति प्रदेश सांसद कृष्णलाल भँडेलले बिपद्का बेला तीनै तहका सरकारको पुर्ण सकृयता आवश्यक रहेकोमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरपालिकाले आपतकालिन कार्यसंचालन केन्द्र संचालन गरेको जानकारी दिंदै कोरोना भाइरस रोकथामका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बिपद ब्यबस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको थप सकृयता र समन्वय आवश्यक रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाले जनचेतनाका लागि ५० हजार पर्चा बितरण गरिएको जानकारी दिंदै मुख्य चोक ,सडक ,बिद्यालय र वडा कार्यालयहरुमा फ्लेक्स राखिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले संघीयता आर्थिक बोझिलो भयो भनिरहँदा वडास्तरसम्म रहेका सरकारको बलियो उपस्थितिलाई यस सन्दर्भमा उपयोगी बनाउनुपर्ने बताउनुभयो ।अध्यक्ष बुढाथोकीले कोभिड नियन्त्रणका सम्बन्धमा संचार क्षेत्रले जोखिम मोलेरै भएपनि समन्वय,खबरदारी र सचेतीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले संभावित बिपद्को पुर्व तैयारीका लागि जिल्लामा सबै तह र तप्काले जिम्मेवारी बहन गरिरहेको बताउँदै थप सकृयता र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।उहाँले जिल्लाका सबै स्थानीय तहमा छिट्टै बिपद ब्यबस्थापन समितिको बैठक राखी योजना बनाउन घच्घच्याउने बताउँदै स्वास्थ्य कार्यालयको अगुवाईमा ३ दिनभित्र प्रति कार्य योजना बनाउने गरी काम भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले कोभिड नियन्त्रण र रोकथामका लागि स्थानीय तहले गर्नुपर्ने पुर्वतैयारीको बिवरण बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममानेपाली सेनाको बीरदल गणका गणपति कर्णेल शिबप्रसाद पौडेलले सरकारले चाँगुनारायण नगरपालिकामा रहेको खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिने निर्णय गरेकोले दुबै भवनलाई निकट भबिष्यको संभाब्य प्रयोगलाई बिचार गरी तत्काल यथावत अबस्थामा कायम आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा.सुमित्रा गौतमले जिल्लाका बिभिन्न अस्पतालमा २३ बेडको आइसोलेसन क्षेत्र तोक्ने गरी तैयारी भैरहेको बताउनुभयो ।

बैठकले जिल्लामा राष्ट्रिय बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको कार्यलय भवन तथा अन्य आवश्यक संरचना बनाउन पहल गर्ने,जिल्लाभित्र रहेको नगरपालिका र रेडक्रसमा बिपद् ब्यबस्थापनका लागि सम्पर्क ब्यक्ति र गतिबिधिको माग गर्ने,स्वास्थ्यकर्मीहरु आवश्यक भएको अबस्थामा सेवा उपलब्ध गराउन तयारी अबस्थामा रहनुपर्ने निर्णय गरेको छ ।
यसैगरी कोरोना भाईरस संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउनका लागि सरकारी तथा गैरसरकारी कार्यालय ,स्थानीय तह ,संचार माध्यम,नागरिक समाज ,पेशाकर्र्मी ,समाजसेवी,सामाजिक अगुवासँगको सहकार्यमा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ ।

कालोबजारी र कृतिम अभाव हुन नदिन नियमित बजार अनुगमन गर्ने र अनुगमनबाट कालोबजारी गरेको पाईए तत्काल कानुनी कारवाही गर्ने र आसन्न एसईई परीक्षा केन्द्रहरुमा कोरोना सम्बन्धि हेल्प डेस्क संचालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।बैठकमा सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधि सबैको सहभागीता रहे पनि सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति भने सहभागी हुनु भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्