भारतीय प्रस्ताव



कोरोना भाइरसको संक्रमणसँग लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूको नेतृत्वले बलियो रणनीकित अवलम्बन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। यस प्रस्तावलाई सबैतिरबाट स्वागत गरेको पाइएको छ। स्वागत गर्नुका प्रमुख दुई आधार देखिएका छन्– मानवीय सहयोग र सुरक्षाका लागि तत्परता तथा सार्कलाई पुनर्जीवन दिने भारतीय सोच।

यी दुवै आधार यस क्षेत्रका नागरिकको हितमा देखिन्छन्। यस क्षेत्रको भूगोल, जनसंख्या, आर्थिक स्रोत–साधन र राजनीतिक प्रभावका दृष्टिले सर्वाधिक शक्तिशाली रहेको भारतको नेतृत्व र चाहना निर्णायक हुने सत्यलाई कसैले नकार्न मिल्दैन।

केही वर्षदेखि भारतकै अन्यमनस्क मानसिकताले स्थगनको अवस्थामा रहेको सार्क यस्तै साझा र गैरराजनीतिक मुद्दामा बढी केन्द्रित होस्, विकास र मानवअधिकारको पक्षमा यसले ध्यान दिन सकोस् भन्ने चाहनालाई पछिल्लो प्रस्तावले सम्मान गरेको छ। तर, आगामी दिनमा यसका नयाँ चरणहरू कस्ता हुनेछन् भन्ने पक्षमा भने यस क्षेत्रका नागरिक अझै विश्वस्त हुन सकिरहेको पाइँदैन।

अस्ति आइतबार सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फ्रेन्समार्फत भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न क्षेत्रीयरूपमा एकीकृत हुनुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो। रोगले राजनीतिक तथा भौगोलिक सिमाना नचिन्ने र व्यक्तिको उचाइ पनि नहेर्ने भएका कारण महामारीविरुद्ध लड्न सीमापार मानसिकता प्रदर्शन गर्नैपर्छ।

चीनको उहान प्रदेशबाट फैलिएको कोरोना भाइरसले छरछिमेकका राष्ट्रको सीमालाई मात्र बेवास्ता गरेन, समुद्रपारसम्म पहुँच बनायो। विश्वव्यापी बन्यो। विश्व स्वास्थ्य संगठनले यसको संक्रमणबाट दक्षिण एसियाका राष्ट्रहरू पनि उच्च जोखिममा रहेको औंल्याउँदै आएको अवस्थामा मोदीले सहकार्यको प्रस्ताव राख्नुभएको छ। भाइरसबाट भारतमा दुई जनाको मृत्यु भएको र यस क्षेत्रमा संक्रमितको संख्या डेढ सय पुगेको अवस्था छ। १ सय ७ संक्रमित भारतमै छन्।

प्रधानमन्त्री मोदीले आपत्कालीन कोषमा भारतले तत्काल १ करोड अमेरिकी डलर दिने र कोषमा जम्मा भएको रकम आपत्कालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने प्रस्ताव गर्नुभएको छ। यसका साथै भारतमा टेस्टिङ किटसहितको चिकित्सकहरूको र्यापिड रेस्पोन्स टिम बनाउने र चाहिएका बेला कुनै पनि देशमा जान सक्ने गरी तयार हुने भनिएको छ।

भारतले बनाएको इन्टिग्रेटेड डिजिज सर्भेलेन्स पोर्टलको सफ्टवेयर अरू राष्ट्रलाई दिने र साझा अनुसन्धान प्लेटफर्म बनाउन सकिने जनाएको छ। युद्ध ‘हामीले सँगै लड्नु छ र सँगै जित्नु छ, हाम्रो सहकार्यलाई दुनियाँमा नमुना बनाउनु छ।’ –प्रधानमन्त्री मोदीको प्रस्तावमा भनिएको छ।

सार्क स्थगन हुँदै खारेजीतिर जानु यस क्षेत्रको हितमा थिएन। सार्कको प्रचुर सम्भाव्यतालाई प्रयोगमा ल्याउनु आवश्यक थियो र भोलि पनि यसको आवश्यकता छ। सदस्य राष्ट्रका राजनीतिक मुद्दा र जुँगाको लडाइँमा अल्झाएर यसलाई निस्क्रिय बनाउनु दुर्भाग्यपूर्ण हुन्छ। विकास र सामाजिक सुरक्षा नै यसको मूल कार्यक्षेत्र हुनुपर्छ। विशालकाय भारतले छिमेकीको सम्मानका साथ यस्ता विषयमा नेतृत्व लिनुपर्छ, यसो गर्दा नै उसको प्रतिष्ठा पनि उच्च हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्