जोखिम मोलेरै झोलुगें पुलबाट यात्रा



मिला दरै, तनहुँ ।

संघीयता लागू भएसँगै धेरै ठाउँको विकास हुँदै गएको छ। प्रायजसो क्षेत्रमा भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा पर्ने गरेको भए पनि केही ठाउँ अझै पनि नदी पार गर्न सहज भएको छैन। त्यस्तै भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई जोड्ने भागरस्थित सेती नदीमाथि निर्माण हुने मोटरेबल पुल ६ वर्षसम्म अलपत्र अवस्थामा रहेको छ।

 

ठेकेदारको बेवास्ताका कारण पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको हो। ठेकेदारले समयमै काम नगरेको र पटक–पटक पुलको डिजाइन परिवर्तन हुनुले पनि सो पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको हो। पुल निर्माण अलपत्र हुँदा स्थानीयवासी झोलुगें पुलबाट सवारी साधनमा वारपार गर्न बाध्य भएका छन्। पुल निर्माणमा ढिलाइ हुँदा आफूहरूले सास्ती खेप्नुपरेको सर्वसाधारणको भनाइ छ।

 

पुलको दायाँ–बायाँ पिलर तयार गरिए पनि अन्य काम अगाडि बढ्न नसक्दा अलपत्र मोटरेबल पुल हेरेर आवतजावत गर्न बाध्य भएको स्थानीयवासी बताउँछन्। भिमाद नगरपालिका–८ भागरका लोकबहादुर रानाले यही झोलुगें पुलबाट मोटरसाइकल चढेर वारपार गरेको वर्षाैं बितेको बताउनुहुन्छ। ‘१ सय ५ मिटर लामो मोटरेबल पुलको पिलर हेरेर चित्त बुझाउनुपरेको छ।’ –उहाँले भन्नुभयो। पटक–पटक झोलु·े पुलमा मोटरसाइकल पल्टने समस्याले स्थानीय हैरानीमा परेको उहाँले बताउनुभयो।

 

त्यस्तै भिमाद नगरपालिका–८ भावरका चूडामणि खनालले धेरै सम्भावना भएर पनि पुलकै अभावमा यहाँको क्याङ्दी फाँट ओझेलमा परेको दुखेसो पोख्नुहुन्छ। लामो समयसम्म पुल नबनेकैले क्याङ्दी फाँटमा पर्ने फराकिला उर्वरयोग्य भूमि भावर, वैद्यपानी, अरौंदीलगायतका स्थान विकासमा पछि परेको खनालले बताउनुहुन्छ।

 

करिव ६ वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी निर्माणाधीन शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण सम्पन्न भएपछि भने यो ठाउँले राम्रैसँग कोल्टे फेर्ने अपेक्षा उहाँको छ।

 

स्थानीय रानाको जस्तै यहाँका हरेक सर्वसाधारणलाई कहिले पुल बन्ला र गाउँको मुहार फेरिएला भन्ने धोको सबैको छ। यहाँ पुल निर्माण हुने बित्तिकै फराकिला समथर फाँटका कारण व्यवसायिक कृषिको प्रचुर सम्भावना भएर पनि त्यसले गति लिन नसकेको उहाँ बताउनुहुन्छ।
पुलसँगै यस क्षेत्रमा बजारीकरणको विकास, कृषिको व्यवसायीकरणका साथै पर्यटकीयरुपमा महत्त्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बाराहीलगायतको प्रवद्र्धन हुनेछ।
सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले डिजाइन परिवर्तन गरिनुले पनि पुल निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ। पुलका लागि आवश्यक पर्ने ४ फाउन्डेसनमध्ये तीनवटा फाउन्डेशन निर्माण भएको र अव एउटा फाउन्डेशन निर्माणका लागि काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।
आगामी वर्षको फागुन मसान्तसम्ममा पुल निर्माण हुने उहाँको दाबी छ। एडभेन्चर कन्ट्रक्सनलाई पुल निर्माणका लागि ८ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपियाँमा सम्झौता गरिएपनि पछि लागत संशोधन गरेर पुल निर्माणका लागि १० करोड १ लाख ५० हजार ५ सय ९३ रुपियाँ पुगेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्