बाग्मती प्रदेशमा “नो ह्यान्डसेक”



रोशन पराजुली, हेटौंडा ।

बाग्मती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको परम्परादेखि चलिआएको चलन एवं हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो ह्यान्डसेक’ नीति अवलम्बन गर्न जनसमुदायमा आह्वान गर्ने निर्णय गरेको हो।

बाग्मती प्रदेशमा कम्युनिस्टको बहुमत छ। ह्यान्डसेकको प्रचलन धेरै हदसम्म प्रदेशका प्रखर कम्युनिस्ट नेता तथा नेकपा प्रदेश नेता मुख्यमन्त्री पौडेलकै कम्युनिस्ट राजनीतिक विचारधारासँग पहिलेदेखि नै सम्बद्ध रहेको पाइन्छ। तर, उनै कम्युनिस्ट नेताको नेतृत्वमा बिहीबार हात मिलाउनु भन्दा ‘नमस्कार अर्थात् ‘नो ह्यान्डसेक’ गर्न आग्रह गर्ने निर्णय गरिएको हो।

विश्व स्वास्थ्य संगठनले विश्वभर आकस्मिक सरुवा रोग (ग्लोबल एपिडेमिक) घोषणा गरेपछि प्रदेशमा पनि यस रोगबारे सबैतिरबाट सचेतना अपनाउन थालिएको छ। कोरोना भाइरस सर्नबाट बच्न एकापसमा हात नमिलाउन बरु नमस्कार मात्र गर्न आग्रह गरिएको छ।

मौसमी र सरुवा रोगका रूपमा रहेको कोरोना भाइरसबाट बच्न गुणस्तरीय मास्क लगाउन, समुद्री खाना नखान, रुघाखोकी लागेका बिरामी मानिसबाट टाढा बस्न र रुघाखोकीको लक्षण देखिनासाथ नजिकको अस्पताल वा डाक्टरकहाँ जान आग्रहसमेत गरिएको छ।

मुख्यमन्त्री पौडेलले ‘नो ह्यान्डसेक’ अर्थात् हात मिलाउने बानीलाई निरुत्साहित गर्ने नीति लिइएको बताउनुभयो। हात मिलाउनु नेपालीको मौलिक संस्कृति नभएको र हात मिलाउँदा किटाणुको संक्रमण हुन सक्ने भएकाले यस्तो नीति उपयुक्त हुने उहाँको तर्क छ।

कोरोनाकै त्रासका कारण औपचारिक स्वागत वा बधाई दिँदाबाहेक हेटौंडा क्षेत्रमा हात मिलाउने चलन कम हुँदै गएको छ।

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपालसमेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको जनाएको छ।

मौसमी रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या हुँदै निमोनिया भएर मानिसको मृत्यु हुने कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारीका रूपमा घोषणा गरिसकेको छ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बुधबार मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री एवं मिर्गौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यलाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीलाई प्रदेश सरकारले धन्यवाद व्यक्त गरेको छ।

प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो।

प्रदेश सूचनाको हकसम्बन्धी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने स्वीकृति दिने, चालू आर्थिक वर्षका लागि प्रदेश विशेष अनुदानतर्फका थप योजना स्वीकृत गर्ने निर्णय गरिएको छ।

साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय खारेज गर्ने निर्णय गरिएको छ। यसअघि साझा सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकाले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्