चलचित्र पत्रकार संघमा सिटौला



चलचित्र पत्रकार संघ नेपालको सोमबार राजधानीमा सम्पन्न आठौं अधिवेशनबाट दिनेश सिटौलाको अध्यक्षतामा ३ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ।

सिटौलाले निर्वाचनमा खसेको १ सय ३८ मध्ये ७० मत प्राप्त गरेका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी डब्बु क्षत्रीले ३९ मत प्राप्त गरेका थिए। १ सय ४० सदस्य रहेको संघको निर्वाचनमा अध्यक्ष पदका अन्य २ उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत प्राप्त गरेका थिए।

त्यसै गरी कार्यक्रम उपाध्यक्षमा जीवन पराजुली ७४ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी कुबेर गिरीले ६३ मत प्राप्त गरेका थिए। समीर बलामी ८८ मत प्राप्त गरी महासचिवमा निर्वाचित भएका छन्।

उनको प्रतिद्वन्द्वी वैकुण्ठ पराजुलीले ५० मत प्राप्त गरेका थिए। त्यसै गरी रघुनाथ सापकेटा १ सय ५ मत प्राप्त गरी सचिवमा निर्वाचित भएका छन्। उनको प्रतिद्वन्द्वी राम खड्का (आकाश) ले ३१ मत प्राप्त गरेका थिए।

रघुनाथ सर्वाधिक मत प्राप्त गर्ने उम्मेदर भएका छन्। त्यस्तै विनोद पोखरेल ७२ मत प्राप्त गरी सहकोषाध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी लेकबहादुर आचार्य (कुमार) ले ६० मत प्राप्त गरेका छन्।

नयाँ कार्यसमितिको सदस्यमा नवीन गिरी, मनीष दाहाल ‘अन्जान’, मिलन ढुंगाना, गोपीकृष्ण चापागाईं, गणेश ओली (आशिष), सृष्टि पोखरेल निर्वाचित भएका छन्।

संगठन उपाध्यक्ष संगठनमा कुवेर डंगोल, महिला दीपज्योति थापा, समावेशी सचिवमा विशाल राई, कोषाध्यक्षमा प्रदीप कार्की र महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनअघि उद्घाटन सत्रमा बोल्दै संघका पूर्वअध्यक्ष विदुर गिरीले अधिवेशन अघिल्लो कार्यसमितिको कामको मूल्यांकन गर्ने दिन भएको चर्चा गर्दै अधिवेशनसँगै एकबद्ध भएर लाग्नुपर्ने बताए।

चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले फिल्म क्षेत्रमा लागेको कोरोना भाइरसभन्दा ठूलो भाइरललाई ठीक पार्ने एन्टिभाइरल पत्रकार बन्नुपर्ने चर्चा गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले शुद्धीकरण गर्दै अगाडि बढ्नुपर्ने चर्चा गरे। संघको हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतमले संघको केन्द्र बलियो भने शाखाहरू पनि बलियो हुने चर्चा गरे।

समारोहका सभापति तथा अघिल्लो कार्यसमितिका अध्यक्ष सन्दीप सापकोटाले संघका लागि मन, वचन र कर्मले काम गरेका बताए। महासचिव अनिल यादवले संघको तीनवर्षे सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कुवेर डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्