नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा सबै रोगको उपचार



‘नेपालीको क्यान्सरको उपचार नेपालमै’ भन्ने नाराका साथ स्थापित तथा पछिल्लो समयमा सबै प्रकारको क्यान्सर उपचारमा उच्चतम सफलता हासिल गर्दै आएको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको मात्रै नभई अन्य सबै प्रकारका बिरामीको उपचारका लागि जनरल सेवा पनि शुरू गरिएको छ।

सो अस्पतालमा केही महिनादेखि ‘निरोगी वेलनेस सेन्टर’ को स्थापना गरी सर्वसाधारण बिरामीको अन्य रोगको पनि उपचार शुरू गरिएको अस्पतालका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताउनुभयो।

‘क्यान्सरको लक्षण नकुरौं, समयमै स्वास्थ्य जाँच गरी क्यान्सर नै भएछ भने पनि शुरूकै अवस्थामै उपचार गरौं’ भन्ने सन्देश दिन ‘निरोगी वेलनेस सेन्टर’ स्थापना गरिएको डा. श्रेष्ठले बताउनुभयो। ‘क्यान्सरको लक्षण कुर्दाकुर्दै क्यान्सर तेस्रो र चौथो स्टेजमा पुगिसकेको हुन्छ र बिरामीलाई चाहेर पनि बचाउन सकिन्न।’ –उहाँले भन्नुभयो।

‘यसतमात्रै नभई आफ्नो उपचारका लागि बिरामीले विभिन्न दुःखकष्ट झेल्दै टाढाका अस्पताल धाउन नपरोस् भन्ने पनि हाम्रो चाहना हो।’ –उहाँ भन्नुहुन्छ। मुटुरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा. उजित कर्माचार्यको नेतृत्वमा हरेक दिन बिहान ८ बजेदेखि ४ बजेसम्म उपचार सेवा दिने उद्देश्यका साथ ‘निरोगी वेलनेस सेन्टर’ को स्थापना गरिएको हो।

यसको अलावा उक्त सेन्टरमा क्यान्सर एवं मुटुरोग विशेषज्ञ तथा जनरल फिजिसियन डा. उजित कर्माचार्य, डा. शैलेन्द्र श्रेष्ठ र डा. सचिन शाक्यले मुटुरोग र सामान्य स्वास्थ्य जाँच तथा, स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा. अञ्जु श्रेष्ठ र डा. अनु वज्राचार्यले स्त्रीरोगका बिरामीको जाँच गर्ने व्यवस्था मिलाइएको छ।

सेन्टरमा सिनियर नर्सहरूमा उषा महर्जन, यमुना कार्कीलगायत कार्यरत छन्। वेलनेस सेन्टरमा स्वास्थ्य जाँच गरी क्यान्सर भएको पत्ता लागेका बिरामीको तत्कालै आवश्यकताअनुसार केमोथेरापी, रेडियोथेरापी र सर्जिकल उपचार सेवा गरिने अस्पतालले जनाएको छ।

क्यान्सरका बिरामीका लागि सो अस्पतालमा दैनिक ३० भन्दा बढी वरिष्ठ क्यान्सर विशेषज्ञ चिकित्सकहरूले बालबालिका, महिला र पुरुषको क्यान्सर जाँच र उपचार गर्दै आएकोमा जनरल फिजिसियन र मुटुरोग विशेषज्ञ चिकित्सकहरूबाट समेत दैनिकरूपमा अन्य सर्वसाधारण बिरामीको जाँच र उपचार पनि शुरू गरिएको ‘निरोगी वेलनेस सेन्टर’ का प्रमुख डा. उजित कर्माचार्यले बताउनुभयो।

पछिल्लो समयमा मुटुरोगी, मधुमेहलगायत अन्य बिरामीलाई पनि क्रमशः क्यान्सर देखिन थालेकाले उनीहरूलाई लक्षित गरी शुरूकै अवस्थामा क्यान्सर पत्ता लगाउन विभिन्न स्वास्थ्यका साधारण स्वास्थ्य प्याकेज, मुटुरोग प्याकेज, डायबिटिज प्याकेजका साथै समष्टिगत परीक्षण प्याकेज, पुरुषका लागि ५० वर्ष माथिका र ४० वर्ष कटेका महिलाका लागि उक्त निरोगी वेलनेस सेन्टरमार्फत विशेष स्वास्थ्य जाँच प्याकेजको व्यवस्था पनि गरिएको कार्यकारी अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो।

विषादि र अन्य केमिकल मिसावट भएका खानेकुरा, अप्राकृतिक जीवनशैली, प्रदूषण, वंशानुगत कारणलगायत विभिन्न अज्ञात कारणले गर्दा पछिल्लो समयमा क्यान्सरमात्रै नभई मुटुरोग, मिर्गाैला, मधुमेहका बिरामीको संख्या बढिरहेकाले गर्दा सो अस्पतालको क्यान्सर बहिरंग उपचार सेवामा आएका बिरामीको मागअनुसार सर्वसाधारणका लागि अस्पतालमा अर्काे बहिरंग सेवा शुरू गरिएको हो।

क्यान्सर उपचारमा विशेषज्ञता हासिल गरेको उक्त अस्पतालमा सर्वसाधारण बिरामीको मागअनुसार भविष्यमा क्रमशः अरू रोगका विशेषज्ञ चिकित्सकको सेवा पनि थप गर्दै लगिने योजनामा रहेको कार्यकारी अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो।

क्यान्सर अस्पतालमा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट क्यान्सरको अलावा सबै रोगको जाँच र उपचार शुरू भएपछि ललितपुरको हरिसिद्धि, गोदावरी, इमाडोल, धापाखेललगायतका आसपास र काठमाडौं, ललितपुर र भक्तपुरलगायत राजधानी बाहिरबाट आफ्नो स्वास्थ्य जाँच र उपचार गर्न आउने बिरामीको संख्या दिनहुँ बढिरहेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्