कोरोनाले ओहोदा चिन्दैन र कसैलाई छोड्दैन



भगवती तिमल्सिना

चीनमा संक्रमण दर कम हुँदै गए तापनि अन्य देशमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या झन् बढ्दै गएको छ। इटाली तथा इरानमा यसको संक्रमण अत्यन्तै वृद्धि भइरहेको अवस्था छ।

विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसबाट विभिन्न देशका मन्त्री, प्रधानमन्त्री पत्नीदेखि खेलाडी, कलाकारलगायत पनि संक्रमित भएका छन्।

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिज कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ। उहाँ अहिले आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहनुभएको बीबीसीले जनाएको छ।

यसलगत्तै बेलायतले कोरोनाको परीक्षण गर्ने शैøया पनि बढाएको छ। केही दिन अघिसम्म १५ सय जनाको मात्रै परीक्षण हुने क्षमता भएको बेलायतमा अहिले दिनमा १० हजार जनाको परीक्षण गर्ने अवस्था सिर्जना भइसकेको छ।

त्यसै गरी अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन कोरोना भाइरसबाट संक्रमित हुनुभएको पुष्टि भएको छ। बिहान उठ्दा ज्वरो आएको र घाँटी दुखेको अनुभव गरेपछि उहाँले क्विन्सल्यान्डको अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो। कोरोना भाइरस संक्रमणको परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै इरानकी उपराष्ट्रपति मासुमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उहाँलाई घरमै क्वारेन्टाइनमा राखिएको छ। इरानमा कोरोनाका कारण ५५ वर्षीय इरानी सांसद फतेमेह रहबरको कोरोनाका कारण मृत्यु भएको छ। इरानमा कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालय तथा स्कुल बन्द गरिएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर पनि कोरोना भाइरसबाट पीडित हुनुभएको छ। जस्टिन ट्रुडोले श्रीमतीमा फ्लुजस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखे।

क्यानडा सरकारले दिएको जानकारीअनुसार गे्रगोइर ट्रुडोलाई ब्रिटेनमा भएको एक कार्यक्रमबाट फर्किएपछि रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो। पछि कोरोना परीक्षण गर्दा पुष्टि भएको क्यानाडियन सरकारले जनाएको छ।

स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। प्रधानमन्त्री कार्यालयले यसको जानकारी दिएको हो। त्यसै गरी स्पेनकी समानतामन्त्री आइरेने मोन्तेरो कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ। उहाँमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिसँगै क्वारेन्टाइनमा राखिएको छ।

हलिउडका चर्चित अभिनेता टम ह्यांक्स पनि कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ। ह्यांक्ससहित उहाँकी श्रीमती अभिनेत्री रीता विल्सनमा पनि कोरोनाको संक्रमण देखापरेको छ।

त्यस्तै आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो। मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएपछि आर्सनलले त्यसको अघिल्लो शनिबार ब्राइटोनविरुद्धको खेल नै स्थगित गरिएको छ।

स्रोत : न्युज एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्