खेल कर्मचारीको तलबका लागि खेलाडीद्वारा दान



न्युयोर्क, (एजेन्सी)

 

खेल गतिविधि ठप्पका कारण तलब र ज्याला नपाएका खेल कर्मचारीलाई खेलाडीहरूले दानमार्फत सहयोग गरेका छन्।

 

हाल अमेरिकामा लगभग सबै ठूलाखाले खेलकुद लिग स्थगित अथवा प्रतियोगिताहरूका मिति सारिएका छन्। जसका कारण त्यससँग सम्बन्धित स्टेडियममा काम गर्ने कामदार, मेन्टेनेन्स स्टाफ, हाउस किपिङ स्टाफ, अफिस बोय, ड्राइभर आदि कर्मचारीको दैनिक ज्याला र तलब पनि रोकिएको छ।

 

ती सबै कर्मचारीको आवश्यकतालाई ध्यानमा राखी अमेरिकी बास्केटबल लिग एनबीए र मेजर लिग बेसबल (एमएलबी) का खेलाडीहरूले रकम दान गरी सहयोग गरिरहेका छन्। जसबाट हालसम्म ८७ करोड नेपाली रुपियाँ बराबरको रकम दान गरिएका छन्।

 

यो क्रम अझै जारी नै रहेको छ। एनबीए टिम युटा जेजका खेलाडी रुडी गोबर्टले करिब ६ करोड नेपाली रुपियाँ बराबर रकम दान दिएका छन्। त्यस्तै, एलए क्लिपर्स, लेकर्स र सेक्रेमेन्टो किंग्सजस्तो ठूलो एनबीए टिमहरूले पनि ५ मिलियन डलरभन्दा बढी सहयोग गरेका छन्।

 

बेसबल टिम ह्युस्टन एस्ट्रोसका जर्ज स्प्रिंगर र एलेक्स ब्रेगमेनले पनि १ करोड २० लाख नेपाली रुपिया बराबरको रकम दान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्