शंखमूलमा शवदाह गृहको प्रस्ताव, स्थानीयसँग परामर्श जारी



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले शंखमूलस्थित निर्माण गर्न लागेको विद्युतीय शवदाह गृह कस्तो बनाउने भन्ने सन्दर्भमा स्थानीय बासिन्दाको सुझाव लिने बताएको छ । विद्युतीय शवदाह गृह निर्माणको विरोधमा सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त कुरा बताउनुभएको हो । स्थानीयसँग उहाँले भन्नुभयो– ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग बसेर गर्छौ, तर विद्युतीय शवदाह गृह निर्माण गर्ने सन्दर्भमा महानगर पछि हट्दैन ।’

उहाँले स्थानीयको सुझावलाई शवदाह गृह निर्माणको क्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्युतीय शवदाह गृह निर्माणको निर्णय कार्यपालिका बैठकको मात्रै नभएर नगरसभाको समेत भएको प्रमुख महर्जनले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘यो मेरो व्यक्तिगत निर्णय होइन, महानगरका सम्पूर्ण जनप्रतिनिधिको निर्णय हो ।’ उहाँले शंखमूलमा अधिकाशं पाटनबासीको दाहसंस्कार गरिने बताउँदै विद्युतीय शवदाह गृह त्यहाँ अत्यावश्यक भएको स्पष्ट पार्नुभयो । शंखमूल नेपालको सबैभन्दा लामो घाट हो ।

यसलाई दोस्रो पशुपति पनि भनिन्छ । खुला वातावरणमा लाश जलाउँदा वातावरण विनाश हुने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको प्रमुख महर्जनले बताउनुभयो । दाउरा प्रयोग गरेर लाश जलाउँदा हुने वन विनाश समेत यसले रोक्ने उहाँको धारणा थियो ।
महानगरलाई विद्युतीय शवदाह गर्ने मेसिन दाताबाट प्राप्त भएको छ । उक्त केन्द्र निर्माणका लागि घाटसँगैको जग्गा महानगरले अधिग्रहण गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्