मध्यरातमा अज्ञात समूहद्वारा स्काभेटर र जेसीभीमा आगजनी



न्युज अफ नेपाल, म्याग्दी ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६, तोलाबाङमा गएराती स्काभेटर र जेसीभी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ । क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसीभी र बा २ क ९२१० (पिसी–२१०)को स्काभेटर मेसिन आगजनीबाट पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रातको १२ बजेर ४५ मिनेटको समयमा मेसिनमा आगो लागेको सूचना प्राप्त भएलगत्तै पुगेको प्रहरीको टोलीले करिब १ घण्टाको प्रयासमा आगो निभाएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अहिले आगजनी गर्नेहरुको खोजीकार्य सुरु गरिए पनि कसले आगो लगाएको भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बेनी–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२, लाम्पाटादेखि मालिका गाउँपालिका–६, दरबाङ जोड्ने सडक स्तरोन्नतिका लागि दुवै मेसिन परिचालन गरिएको थियो । स्काभेटर र जेसिभीमा आगोलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्