कोरोना बिरुद्ध पश्चिम नेपाल बस व्यवसायीको सचेतना अभियान सुरु



यमलाल भुसाल, बुटवल ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध सचेतना गराउने गरि पश्चिम नेपाल बस व्यवसायी प्रालिले यात्रुको तापक्रम नापेर मात्रै यात्रा गराउने भएको छ ।

 

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि यात्रुको तापक्रम नाप्न सुरु गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनु भयोे ।

 

पश्चिम नेपाल बस व्यबसायी प्रालिले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर कोरोना भाईरस बिरुद्धको अभियानका बारेमा जानकारी गराएको हो । उक्त अभियान अन्तरगत प्रालिका कर्मचारीहरुलाई तामक्रम नाप्न प्रशिक्षण गरिएको र बुटवल सिटि काउन्टरबाट आईतबार साँझदेखि र बाँकी स्थानमा सोमबारदेखि लागु हुने अध्यक्ष खरेलले बताउनु भयो ।

 

सार्वजनिक यातायातलाई सुरक्षित बनाउनकालागि उक्त प्रालिले विशेषगरी सिमावर्ती क्षेत्रलाई लक्षित गरेर उक्त अभियान सञ्चालन गर्न लागेको जनाएको छ । जसअन्तरगत सेवा संचालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, तौलिहवा, कृष्णनगर, महेशपुर, बुटवल, पाल्पाको तानसेन, गुल्मीको तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा यात्रुको तापक्रम मापन गर्ने व्यवस्था मिलाईएको अध्यक्ष खरेलले जानकारी गराउनु भयो ।

 

कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सभा, सम्मेलन लगायतका भिडभाड हुने कार्यक्रम नगर्नकालागि सरकारले आग्रह गरेको छ । सार्वजनिक यातायातलाई रोक्न नसकिएपनि यसको प्रभाव हुन नदिनकालागि प्रालिले तापक्रम नापेर मात्रै यात्रुलाई टिकट काट्ने व्यबस्था मिलाईएको र स्वास्थ्यमा समस्या देखिएका यात्रुलाई नजिकको स्वास्थ्यसंस्थासम्म पु¥याउने प्रवन्ध समेत स्वयम समितिले गर्ने अध्यक्ष खरेलले बताउनु भयो ।

 

बस व्यबसायी प्रालिले सञ्चालन गर्न लागेको यो अभियान समस्या निमुल नहुँदा सम्म निरन्तर सञ्चालन गरिने पश्चिम नेपाल बस व्यबसायी प्रालिका प्रवन्धक पदम गाहाले बताउनु भयो । यो अभियानले यात्रुलाई ढुक्कसंग यात्रा गर्ने वातावरण बन्ने पनि उक्त प्रालिले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्