कोरोनाको प्रभाव होमस्टेमा पनि, सुनसान बन्दै पर्वतका होमस्टे



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वत जिल्लामा सबैभन्दा चल्तीको होमस्टे हो मोदी गाउँपालिकाको चित्रे स्थित होमस्टे । स्वदेश तथा बिदेशका पर्यटक देखि कार्यक्रम, तालिम सञ्चालकहरुको पहिलो रोजाईमा पर्ने चित्रे अहिले सुनसान छ ।

 

अघिल्ला बर्षहरुमा प्रशस्त पर्यटक आउने यो प्रमुख सिजन भएपनि बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोनाको कारण सुनसान छ । मोदी गाउँपालिकाले जमघट हुने कार्यक्रमहरुमा रोक लगाएपछि यो होमस्टे सुनसान जस्तै भएको होमस्टे सञ्चालक शुसिलादेबी गुरुङ्गले बताउनुभयो ।

 

‘हामीले ग्रुपमा आउने पर्यटकलाई पनि नआउन भनेका कारण अहिले पाहुना छैनन’ उहाँले भन्नुभयो ‘सञ्चारकर्मीहरुको दुई दिने कार्यक्रम समेत कोरोनाकै जोखिमका कारण रोकिएको छ’

 

चित्रे मात्रै होइन जिल्लाभित्र र बाहिरका पनि धेरैको रोजाइमा परेको कुस्मा नगरपालिका ३ दुर्लुङको चनौटेमा रहेको सामुदायिक हामेस्टेका एकजना सञ्चालक तथा व्यवस्थापक गोलमान गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै राखेर होमस्टेमा नआउन भन्दै पाहुनाहरुाई सूचित गर्नुभयो । होमस्टे मात्रै होइन संगै रहेको गण्डकी प्रदेशकै अग्लो महभीर क्यानोनिङ्गमा पनि बुकिङ्ग रद्द गरियो ।

 

स्थापना भएको एक वर्षको अवधिमा नै विभिन्न स्थानीय परिकार र मनोरम दृश्यसहितको साहसिक खेलहरु रक क्लाइम्बिङ, क्यानोनिङ र केभिङका कारण पाहुनाहरुको लर्को लागेको बेलामा पाहुनाहरुलाई नआउन अनुरोध गर्नुपरेको उहाँको भनाई छ ।

 

‘पाहुना सबै बाहिर(बिदेश र शहरबजारबाट) आउनुहुन्छ , उहाँहरुलाई निर्वाध रुपमा गाउँमा राख्दा कोरोनाको संक्रमण फैलन्छ भन्ने डर भयो’ उहाँले भन्नुभयो ‘सबै सतर्क र सुरक्षित रहनुपर्छ भनेर बुकिङ्ग पनि रद्द गरेका छौ ’ क्यानोनिङ्गका लागि बुकिङ्ग गरेका १५ जनाकोे समुहको बुकिङ्ग रद्द गरेको उहाँले जानकारी दिनुभयो ।

 

मगर संस्कृति र परिकारका कारण पाहुनाहरुको भिड लाग्ने गरेको फलेवास नगरपालिका २ थापाठानाको खुममा रहेको डहरे देउराली होमस्टे पनि यति बेला सुनसान नबनेको छ।

 

कोरोना भाइरसको विषयमा नेपालमा पनि चर्चा सुरु भएपछि सरकारले सतर्कता अपनाउन अनुरोध गरेसँगै पाहुनाहरु आउने क्रम लगभग रोकिएको होमस्टे सञ्चालक तथा वडा सदस्य मनकुमारी थापाले बताउनुभयो ।

 

‘कोरोनाको त्रास फैलिएपछि पाहुनारु आउन नै छाड्नुभएको छ। टाढा टाढाबाट पनि पाहुनारुआउने गर्नुभएको थियो। अहिले ठप्प भएको छ’ थापाले भन्नुभयो ‘कोरोनाको त्रास नहटेसम्म पनि पाहुनाहरु आउने जस्तो लाग्दैन, आउनुस् भनेर हामीले स्वागत गर्ने अवस्था पनि त रहेन।’

 

नेपालमा कोरोनाको सङ्क्रमण नभएकाले र अब गर्मी याम सुरु भएकाले पनि नेपाल यसको प्रभावमा नपर्ने र छिट्टै नै आफ्ना व्यवसायहरु पूर्ववत् अवस्थामा फर्किने उनीहरुको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्