कोरोना भाइरसनिरपेक्ष सांसद



विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै नेपालमा पनि त्रास बढेको छ। संसद्मा सांसदहरू यसप्रति निरपेक्ष देखिन्छन्, समस्या नै नभएसरह व्यवहार गरिरहेका छन्। सरकारले डराउनु पर्दैन केही हुँदैन भन्दै आएको छ।
जनताको अभिभावक पनि भएका नाताले उसले यस प्रकारको ढाडस दिनु स्वाभाविक पनि छ। तर, जनता प्रमाण खोजिरहेका छन् नडराउनका लागि। सरकारले जनतालाई कोरोना भाइरस लागिहाल्यो भने कसरी सघाउँछ भनेर हेर्ने हो भने निराशा मात्र हात लाग्छ। केही अस्पतालमा कोठा र बेड छुट्याएर कोरोना भाइरससँग डराउनु पर्दैन भनी सरकारले ढाडस दिएको हो भने यो हास्य विषय मात्र ठहर्नेछ।
कोरोना भाइरसका विषयमा बैठक र छलफल नभएका होइनन्। तर, अपक्षाकृतरूपमा कामलाई व्यवहारमा उतार्न सकिएको देखिँदैन। सीमानाका र हवाई उडानमा सरकारले उच्च सतर्कता अपनाउनुपर्ने हो, तर त्यस्तो देखिन्न। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक त्रासपूर्ण जीवन बाँच्न बाध्य छन्। कोरोना भाइरस कहाँ कति बेला र कुन ठाउँमा फैलिन्छ भन्न सकिन्न।
अहिले नेपालमा कोरोना भाइरसको महामारी छैन, यो सुखद विषय हो। तर, जति बेला पनि फैलिन सक्ने सम्भावनालाई सरकारले बिर्सिरहेको देखिन्छ। रोग लाग्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेझैं अहिलेसम्म नेपालमा नदेखिएको कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जुन गतिको साथ सावधानीको उपाय अपनाउनुपर्ने थियो, त्यो भने हुन सकिरहेको छैन।
सीमानाकामा अझै ध्यान पुग्न सकेको छैन। अहिले पनि कोरोना प्रभावित देश र नेपालबीच उडान भइरहको छ। विश्वका धेरै मुलुकले हवाई उडानसमेत बन्द गरेर नागरिकको सुरक्षामा ध्यान दिए पनि नेपालले भने यसको आवश्यकता देखेको छैन।
कोरोना भाइरसका कारण नागरिक त्रासदीपूर्ण जीवन बाँचिरहेका बेला जनताको सर्वोच्च थलो संघीय संसद्मा भने सांसदहरूकै उपस्थिति न्यून देखिन्छ। कोरोनाको भाइरस नेपालमा भित्रन नदिनका लागि सरकारले अपनाउनुपर्ने सावधानीको विषयमा सरकारको ध्यानाकर्षण गराउने र आवश्यक निर्देशन दिने बेला सांसद नै संसद्मा जान किन रुचि राख्दैनन्– के उनीहरू संसद्मा कोरोना भाइरस प्रवेश गर्यो भन्ने आशंकामा त छैनन् ?
जनताको प्रतिनिधित्व गर्ने सांसद आखिर जान्छन् कहाँ ? जनसरोकारको विषयमा संसद्मा बुलन्द आवाज उठाउनुपर्ने सांसद किन मौन छन् ? यतिसम्म कि संसद्मा सरकारले प्रस्तुत गरेको विधेयकमाथिको छलफल गर्नसमेत कोरम नपुग्ने अवस्था बारम्बार दोहोरिँदै आएको छ। देशभित्र आउन सक्ने सम्भावित संकटको समाधान गर्न सरकारलाई सचेत गराउने बेला सांसद संसद् नजानु गैरजिम्मेवारीपना हो।
अहिलेसम्म सरकारले अगाडि बढाएको काम र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा संसद्मा प्रभावकारी छलफल हुन जरुरी छ। तलब–भक्ता लिने र हाजिर गरेर व्यक्तिगत काममा लाग्नु सांसदका लागि सुहाउने विषय होइन। कोरोना भाइरसका बारेमा अपनाउन सकिने उपायका बारेमा सरकारलाई निर्देशन दिने बेला संसद् बैठकमा सांसदहरूले औपचारिता मात्र निर्वाह गरेर पुग्दैन। आफ्नो दायित्व र कर्तव्य पनि पूरा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्