व्यापार घाटा कसरी सुध्रिएला ?



आर्थिक कटानको अभावले नेपालको व्यापार घाटा दोहोरो अंकमा वृद्धि भइरहेको छ। लामो समयको राजनीतिक संक्रमणका कारण निर्यात गर्न सकिने वस्तु र सेवा उपलब्ध गराउन सकिएन। लगानीको वातावरण बन्न सकेन।
औद्योगिक, व्यापारिक पूर्वाधारको विकास हुन सकेन। यसले गर्दा बेच्न सक्ने गरी स्तरीय र ठूलो परिणाममा वस्तु र सेवा उत्पादन हुन सकेन। ऊर्जा अभाव भयो। श्रमसम्बन्धमा उतारचढाव आए। श्रम उत्पादकत्व कमजोर भयो। राजनीतिक संक्रमणका कारण यस्ता समस्या उत्पन्न भए, जसले गर्दा उत्पादन र निर्यात बढ्न सकेन। व्यापार घाटा बढेको बढ्यै भयो।
नेपालका कतिपय वस्तुलाई विश्वबजारमा धेरै रुचाइन्छ तर बजारको मागअनुसार उत्पादन गरेर बिक्री गर्न सकिएको छैन। सञ्चालनमा रहेका उद्योग चल्न सकेका छैनन्। कफीको माग धेरै भएकाले त्यसअनुसार बजारमा पठाउन नसकिएको पूर्वाधार अभाव र उद्यमीको कमीले गर्दा हो।
उद्यमीले पनि आफ्नो क्षमता बढाउन आवश्यक छ। नेपालमा औद्योगिक तथा व्यापारिक पूर्वाधार अत्यन्त कमजोर छन्। हाम्रो राष्ट्र भूपरिवेष्टित हो। हाम्रा सडक पूर्वाधार, विमानस्थल पनि ठूला छैनन्। सुख्खा बन्दरगाहको क्षमता विस्तार आवश्यक छ। कमजोर पूर्वाधारका कारण हाम्रो व्यापार लागत बढी छ। कनेक्टिभिटीमा पनि हामी कमजोर छौं।
यसले हाम्रो आयात निर्यात दुवै बढाएको छ। पूर्वाधार कमजोर भएका कारण हाम्रो प्रतिस्पर्धी क्षमता पनि घटाएको छ।
नेपालको उत्पादन निर्यात गर्दा विभिन्न किसिमका चेकजाँच हुन्छन्। विभिन्न थरीका गुणस्तर मापन गरिन्छन्। तर हाम्रो देशमा जुनसुकै देशबाट जे पनि आयात भइरहेको छ।
यसले एकातर्फ हाम्रा उपभोक्ताले गुणस्तरीय प्रत्याभूत नभएका वस्तु उपभोग गर्नुपरेको छ भने अर्कोतर्फ मुलुकले निरन्तर व्यापार घाटा बेहोर्नुपरेको छ। उनै बजारमा हाम्रो कुनै वस्तु बढी जान थाल्यो भने त्यसमा विभिन्न झन्झट तेस्र्याएर रोक लगाउने वा त्यसलाई नरुत्साहित गर्ने गरेको छ तर हामीले यस्ता व्यापार औजार कहिल्यै प्रयोग गरेका छैनौं।
वास्तवमा नेपालमा निर्यात गर्ने सफल उद्यमीको कमी छ। जति पनि सफल व्यापार हुन् ती सबै आयातमा बढी केन्द्रित छन्। निजी क्षेत्रको नेतृत्वमा पुगेका धेरैजसो उद्यमी उत्पादन र निर्यातमा भन्दा बढी आयातमा केन्द्रित छन्। यो हाम्रो विडम्बना हो। जति आयात गर्नेहरू छन् त्यसको तुलनामा निर्यात व्यवसाय गर्नेहरू निकै कम छन्। निर्यात गर्ने सफल उद्यमी औंलामा गन्न सकिने अवस्थामा छन्। निर्यात गर्ने उद्यमीमा पनि थुप्रै कमजोरी छन्, धेरै सुधारको खाँचो छ।
हामीले अन्तर्राष्ट्रिय बजारमा हाम्रा वस्तुको आक्रामक प्रचार गर्न सकेका छैनौं। व्यापार वृद्धि तथा सन्तुलनका लागि हामीले आर्थिक कूटनीतिकको प्रभावकारी उपयोग गर्न सकेका छैनौं ं। अन्तर्राष्ट्रिय व्यापारका विभिन्न किसिमका खेल हुन्छन्। त्यसमा हामीले खेल्न सकेका छैनौं। व्यापार घाटाप्रति गम्भीर हुन नसक्दा हामी परनिर्भर बन्न अभिशप्त छौं।
उत्पादनका प्रमुख साधनको रूपमा रहेको श्रमशक्ति विदेशी बजारमा जाने र त्यसबाट प्राप्त हुने विप्रेषणको मामला राज्यले लिने गरेकाले देशभित्र उपलब्ध आफ्नो श्रमशक्तिलाई उत्पादनशील कार्यमा परिचालन गर्ने नीति अख्तियार गर्नु आवश्यक छ।
– विजयकुमार शाह, भरतपुर।
राजधानीमा पार्किङ हब बनाउन जरुरी
काठमाडौंमा पार्किङको अभावले निकै समस्या झेल्नुपरेको छ। उपत्यकामा पार्किङको समस्या समाधान गर्न सरकारले हब बनाउन जरुरी देखिन्छ। आवतजावत बढी हुँदा बजार ठूलो हुन्छ। बजार ठूलो भएपछि गाडी धेरै हुन्छन्।त्यसैले गाडी सुरक्षित तरिकाले राख्ने ठाउँ पनि हुन जरुरी छ। तर पार्किङ नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा सबैको टाउको दुखाइ भएको छ।
महानगरपालिकालाई गाडी ओसार्न भ्याइ–नभ्याइ छ भने हामीले पार्किङ गर्ने ठाउँ नपाएर हैरान बेहोर्नुपरेको छ। उचित पार्किङ व्यवस्थापनका लागि केन्द्रीय स्तरबाटै पहलकदमी चाल्न जरुरी देखिन्छ। दिनानुदिन बढिरहेको गाडीको चापले पनि पार्किङको समस्या झनै चर्कने देखिएको छ। समयमै यसको समस्या समाधान नगरे पछिल्ला दिनमा निकै समस्या हामी सबैले झेल्नुपर्ने हुन्छ।
सानो ठाउँ, त्यसमा पनि यति धेरै गाडीको चाप र पार्किङ व्यवस्थापन चुनौतीको विषय भएको छ। जामको समस्या पनि निकै हुने गरेको छ। यो पनि पार्किङको कारणले गर्दा भएको जस्तो लागेको छ। पार्किङ हब बनाएर हरतरहले यसको व्यवस्थापन गर्न जरुरी भइसकेको छ।
– राजु महर्जन, काठमाडौं।
कर्णाली प्रदेश पर्यटकीय आकर्षण केन्द्र
कर्णाली प्रदेश आफैंमा पछाडि परेको पहाडी प्रदेश हो। कर्णाली प्रदेशलाई अहिले विश्वको पर्यटनमा नयाँ गन्तव्य बन्न सक्ने सम्भावनाको प्रदेश भनेर धेरै खाले भाषणहरू शुरू गरिएका छन्। केही समयपहिले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण स्थान रारामा पुगेर देशवासीका नाममा सम्बोधन गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको संख्या रारामा उल्लेख्य मात्रामा वृद्धि भएको छ।
कर्णाली प्रदेशमा पर्यटकको वृद्धि भएसँग पर्यटकहरूका लागि विभिन्न स्थानमा आवश्यक पर्ने होटल बास, पर्यटकहरूलाई आवश्यकता परेका जानकारीहरू दिने व्यक्तिहरू, स्थानीय उत्पादन र उपभोगजस्ता विषयमा आवश्यक तालिम, भौतिक पूर्वाधार, यातायातलगायतका विषयमा सरकार, स्थानीय नागरिक, अन्य सम्बन्धित क्षेत्रहरू, होटेल व्यवसायीले पर्यटन प्रवद्र्धनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने देखिएको छ।
देश–विदेशका पर्यटकहरूका लागि पहिलो रोजाइ बन्न सक्ने कर्णाली प्रदेशमा अहिलेसम्म १ सय १ उत्कृष्ट गन्तव्यहरूको निर्माण गरिएको प्रदेश सरकारले जानकारी दिएको भए पनि अझै धेरै गन्तव्यहरू र पर्यटकहरूका लागि सर्किट निर्माण गरेर अब सरकारले ठोस योजना लागू गर्नुपर्ने देखिएको छ। पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, गन्तव्यहरूको खोजी, पर्यटक कति दिनसम्म बस्न सक्छन् भन्ने विषयहरूको प्रदेशमै जानकारी हुने गरी सूचना केन्द्र स्थापना, हवाई तथा अन्य पूर्वाधारको व्यवस्थापनलगायतका विषयमा पनि सबै निकायहरू जिम्मेवार बन्नुपर्ने देखिएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला हुँदै मानसरोवरसम्मका विभिन्न सर्किटहरू निर्माण गर्दै त्यो रुटसम्म लाखौं पर्यटकहरू भित्र्याउने अभियानका लागि कर्णाली प्रदेशका सबै नागरिकले आ–आफ्नो मस्तिष्कबाट सकारात्मक सोच निर्माण गरेर प्रदेशकै आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्ने देखिएको छ। सरकारले पर्यटनलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम अगाडि ल्याउन जरुरी छ।
– शेरबहादुर बडुवाल,मुगु।

प्रतिक्रिया दिनुहोस्