कोरोनाका कारण ठप्प खेलकुद



कविरस शर्मा, काठमाडौं  

डिसेम्बर ३१ बाट फैलिएको भनिएको नोभेल कोरोना भाइरस (कोभिड (१९) ले विश्वका डेढ सयभन्दा बढी देशलाई आफ्नो चंगुलमा पारिसकेको छ।

चीनको उहानबाट फैलिएको कोरोनाका कारण हजारौं मान्छेले ज्यान गुमाइसकेका छन् भने यसबाट संक्रमितको कुनै निश्चित गणना हुन सकेको छैन। यसको औषधि पत्ता लागि नसकेकोले अझै थुप्रै मान्छे यसको सिकार हुने सम्भावना प्रबल छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण विश्वमा प्रायः सबै गतिविधि ठप्प रहेको छ। अन्य क्षेत्रझैं यसको असरले खेलकुद जगत पनि अछूतो छैन। कोरोनाको सन्त्रासका कारण यसै वर्षको जुलाईदेखि अगस्टसम्म जापानमा हुने ओलम्पिक खेलकुदको आयोजना अन्योल बनेको छ।

चीनबाट शुरू भएको यो भाइरसले हाल द्रुत गतिमा युरोपेली राष्ट्रलाई निसाना बनाइरहेको छ। विशेषगरी इटाली यसको चरम मारमा परेको छ। यसका कारण सम्पूर्ण इटालीवासीको दैनिक क्रियाकलाप नै ठप्प भएको छ।

यो भाइरसका कारण यूरो २०२० फुटबल आयोजना नहुने छाँटकाँट देखिएको छ। यूरोकप शुरू भएको ६०औं वर्षगाँठमा आगामी जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देश (डेनमार्क, हंगेरी, आयरल्यान्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इंग्ल्यान्ड) मा संयुक्त रूपमा आयोजना गर्ने तय भएको थियो।

त्यस्तै, जारी सिजनको अन्त्यको संघारका रहेको विश्वका चर्चित फुटबल लिगहरू ठप्प भइसकेको छ। यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग अप्रिलसम्मका लागि स्थगित भइसकेका छन्। अब यसमा जर्मनीको जर्मन बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वान तथा नेडरल्यान्ड्ससहित युरोपका अन्य राष्ट्रका लिगहरू पनि स्थगित भएका छन्।

जर्मन फुटबल लिगले बुन्डेसलिगा आगामी अप्रिल २ सम्मका लागि स्थगित गरेको छ। त्यस्तै, फ्रान्सको लिग डी फुटबल प्रोफेसनलले गत शुक्रबारबाट सम्पूर्ण खेल स्थगित गरिसकेको छ। अमेरिकी घरेलु फुटबल प्रतियोगिता मेजर लिग सकर पनि स्थगित गरिएको छ। नेपाललगायत एसियाली राष्ट्रका थुप्रै घरेलु फुटबल लिगका प्रतियोगिताहरू भने केही साता अघिबाट नै स्थगित भइसकेका छन्।

त्यस्तै, आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि सरेको छ। आईपीएल चैत १६ देखि शुरू हुने भनिए पनि कोरोना भाइरसका कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ। अब आईपीएल वैशाख ३ देखि शुरू हुने बीसीसीआईले जनाएको छ। त्यस्तै, भारत र दक्षिण अफ्रिकाबीच हुने बाँकी दुई खेल पनि खाली स्टेडियममा हुने भएको छ।

त्यस्तै, अस्टे«लियामा जारी न्युजिल्यान्डसँगको पहिलो वान डे खेल पनि खाली स्टेडियममा भइरहेको छ। श्रीलंका र इंग्ल्यान्डबीच टेस्ट सिरिज, न्युजिल्यान्ड र अस्टे«लियाबीचको सिरिज, विश्वकप लिग–२ को छैटौं चरण र विश्वकप च्यालेन्ज लिग ‘ए’ का खेलहरू पनि स्थगित गरिएका छन्।

नेपालमा पनि सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग ईपीएल चैत्र १ देखि हुने तयारी थियो। तर, कोरोना भाइरसका कारण आयोजकले अकस्मात् अनिश्चित समयका लागि स्थगित गरेको छ ।

फुटबल र क्रिकेट मात्र होइन, अन्य खेलकुद प्रतियोगिताहरू पनि कोरोना भाइरसका कारण ठप्प भएका छन्। अप्रिल २६ मा तय भएको लन्डन म्याराथन पहिलोपटक स्थगित भएको छ। म्याराथन अब अक्टोबरमा हुनेछ। अमेरिकाको चर्चित घरेलु बास्केटबल प्रतियोगिता एनबीएदेखि युरो लिग बास्केटबलसम्म स्थगित गरिएको छ।

त्यस्तै, मायामी ओपन र फेड कप टेनिस प्रतियोगिता पनि क्रमशः अप्रिलको तेस्रो र चौथो साता सारिएको छ। क्यानाडामा मार्च १८ देखि २२ सम्म तय भएको विन्टर स्पोर्टस् पनि स्थगित गरिएको छ।

त्यस्तै, थाइल्यान्डमा मार्चको पहिलो साता तय भएको किंग्स कप इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप पनि स्थगित भइसकेको छ। जसमा प्रतिस्पर्धाका लागि नेपाली खेलाडीहरूको छनोट खेलसमेत भएको थियो। त्यस्तै, आगामी चैत्रको तेस्रो साता तय भएको घरेलु बक्सिङकै सर्वाधिक पुरस्कार राशि भएको वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता पनि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्