चोभारमा सब–स्टेसन बनाउन सहमति 



नेपाल समाचारपत्र, काठमाडौं । 

वर्षअघि शुरू भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइन पूरा हुने चरणमा छ।

ललितपुरको खोकना र चापागाउँबासीको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सब–स्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुरमा विद्युत् पुर्याउने योजना अघि सारेको हो।

सब–स्टेसन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सब–स्टेसन बन्ने निश्चित भएको छ। त्यस सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले छलफल अगाडि बढाउनुभएको छ। ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सब–स्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ।

कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ। ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सब–स्टेशन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने हुनुभएको छ।

चोभारमा सब–स्टेसन नबनाउँदा नेपाल विद्युत प्राधिकरणको मातातीर्थ सब–स्टेशनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाडौं ल्याउन समस्या छ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयमा सचिव दिनेश घिमिरे, सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सह–सचिव एवं सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकाललगायत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्