कोरोनाको दीर्घकालीन असरमा सरकारको राहत



नेपाल समाचारपत्र, काठमाडौं

कोरना भाइरसको कारण अर्थतन्त्रमा पर्न सक्ने दीर्घकालीन असरमा सरकारले राहत दिने भएको छ। आइतबार सिंहदरबारमा निजी क्षेत्रको प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कोरोनाको कारण अर्थतन्त्रमा पर्ने दीर्घकालीन असरमा सरकारले राहत दिने बताउनुभएको हो।

आइतबार कोरोना संक्रमण तथा त्रासको असरको विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो। सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल बैकर्स संघलगायत निजी क्षेत्रका अन्य संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।

बैठकमा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा अहिले कोराना भाइरसको अल्पकालीन असर देखिएको भन्दै दीर्घकालीन पर्ने असरको लागि सरकारले राहत दिन तयार रहेको बताउनुभएको थियो। उहाँले निजी क्षेत्रलाई आपूर्ति व्यवस्थापनमा भने सहजीकरण गर्न आग्रह गर्नुभएको थियो।

बैठकमा व्यवसायीले चैतमा तिनुपर्ने बैंकको किस्ता र करको विषयमा सहुलियत दिनुपर्ने माग राखेका राखेका थिए। अर्थमन्त्रीले त्यसको विषयमा असर अनुसारपछि निर्णय गरेर राहतको प्याकेज दिने प्रतिबद्धता जनाउनुभएको थियो।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग र व्यवसायलाई बचाउनको लागि पुनरकर्जाको सुविधा माग गर्नुभएको थियो। चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चेम्बरले राहत प्याकेजको लागि गरेको कामको जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्