धुलोले हैरान भएपछि स्थानीयद्वारा कान्तिलोकपथ अवरुद्ध



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा १७ का स्थानीयले आइतबार बिहानदेखि चुनडाँडामा सिमेन्टका गाडी चलाउन रोक लगाएका छन् ।

स्थानीयले कान्तिलोकपथ बन्दको चेतावनी दिएको भोलिपल्ट सवारी बन्द गराएका छन् । उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

स्थानीय दामोदर दाहालले सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण उक्त क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्ये हुने समस्या भएको भन्दै स्थानीयले उक्त क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीचालकलाई आफ्ना समस्या अवगत गराएर अघिल्लो दिन नै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको बताउनुभयो ।

स्थानीयले कान्तिलोकपथमा सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिकालगायत सरोकारवाला निकायमा जानकारी गराएका थिए ।

कान्तिलोकपथ सडक कच्ची हुँदा उक्त सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो कान्तिलोकपथसम्म आएर हिलो र धुलो हुने गरेको स्थानीयले बताएका छन् । चुनडाँडामा स्थानीयले सडकमा ढुंगा, मुडा राखेर खानी क्षेत्रबाट चुनढुंगा बोकेर आएका ट्रिपरले मानवीय संवेदनशीलतालाई ख्याल नगरी ज्यादति गरेको भन्दै ट्रिपर सञ्चालनमा रोक लगाए । शनिबार दिउँसो सिमेन्टमा ढुंगा बोक्ने ना. ६ ख ७२३१ नम्बर ट्रिपर चुनडाँडानजिक दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना घाइते भएका थिए ।

दुर्घटनामा ट्रिपरचालक लक्ष्मण बिक, ट्रिपरका यात्री हेटौंडा–७ की अनिता पौडेल, मकवानपुरगढीकी पार्वती लम्साल, मकवानपुरगढीकै गोपाल तिमल्सिना घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घाइते चालकको स्वास्थ्य अबस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चालकलाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल रिफर गरिएको छ ।

ट्रिपर हेटौंडा–१७ स्थित पार्क निर्माणका लागि राखिएको ईंट्टाको थुप्रो भत्काउँदै भित्तामा ठोक्किएको थियो । दुर्घटनाबाट ट्रिपरको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्