अढाई किलो अवैध चाँदीसहित एक पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले हेटौंडा–१९ स्थित नेवारपानी सडकमा शंकास्पद्रुपमा झोला बोकेर हिँडीरहेका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–७ बस्ने वर्ष ३६ का कृष्ण रसाइलीलाई अवैध चाँदीसहित पक्राउ गरेको छ ।

उनलाई सूचना पुर्जी थमाएर शरीर तथा पिठ्युँमा बोकेको झोला खानतलासी गर्दा झोलाभित्र भन्सार छलिएको चाँदीसहित शुक्रबार राति करिब पौने ८ बजे पक्राउ गरिएको हो ।

उनको साथबाट चाँदीजस्तो देखिने सेतो धातुको पत्थर भएको औँठी १७ वटा, पत्थर नभएको औँठी १९ वटा, लेडिज औंठी २८ वटा, पत्थर नभएको लेडिज औंठी ३ वटा, पत्थर भएको सानो बाला ७२ पिस, पत्थर भएको ठूलो बाला १ वटा, पत्थर नभएको बाला ३ वटा, पत्थर नभएको सानो बाला ९ वटा, पत्थर नभएको बाला २० वटा, बेरिएको सानो बाला ५० वटा, पत्थर नभएको ब्रासलेट १५ वटा, पत्थर भएको लेडिज ब्रासलेट २ वटा, भगवानको सानो मूर्ति ५७ वटा र सानो बाला ४ वटासहित चाँदीका ससाना दाना गरी २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिग्रा चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रति १० ग्रामको ७ सय २० रुपियाँका दरले १ लाख ७७ हजार १ सय ४३ रुपियाँ मूल्य बराबरको चाँदी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्जमा अभियुक्त र चाँदी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्