राजधानीमा ‘जब सेन्टर’को ठगी धन्दा



काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, सातदोबाटो, रत्नपार्क, नयाँ बसपार्क, चाबहिललगायतका मुख्य–मुख्य चोकहरूमा ‘अर्जेन्ट कर्मचारी आवश्यक,’ ‘अन्तर्वार्ताविना जब फिक्स,’ ‘घरमै बसी–बसी ५० हजारसम्म कमाइ’ जस्ता विज्ञापन यत्रतत्र टाँसिएका भेटिन्छन्।
घरमै बसी चाहेको जति पैसा कमाउन सकिने भनेपछि सबै सजिलो काम खोज्न भन्दै ‘जब सेन्टर’ पुग्ने गर्छन्। बेरोजगार युवाको पहिलो प्रथमिकतामा रोजगारी पर्छ। प्रायः अध्ययन पूरा गरेर बसेका र रोजगारी नभएका युवाले कतै राम्रो जागिरको माग आएको छ कि भनेर दैनिक पत्रपत्रिका र नेटमार्फत खोजी गरिरहेका हुन्छन्। कतिपय शिक्षित युवाहरू विज्ञापनकै आधारमा कामको खोजी गर्दै विभिन्न कार्यालय धाउने गर्छन्।
बेरोजगार युवाहरूको यस्तै बाध्यताबाट फाइदा लिने तत्वहरूले जबको विज्ञापन गर्दै ठग्ने गरेको पाइएको छ। शहरमा बेरोजगार युवालाई लक्षित गर्दै धेरै रोजगार सेन्टर खोलिएका छन्। यस्ता जब सेन्टरले बेरोजगार युवालाई आकर्षित गर्न फरक–फरक शैली अपनाएर रोजगारीका लागि भन्दै विज्ञापन गर्ने र पर्चा वितरण गर्ने गरेका छन्। तु कर्मचारी आवश्यकता, विनाअन्तर्वाता कामको ग्यारेन्टी भन्दै देशका मुख्य शहरमा जागिरसहितको विज्ञापनको पर्चा बाँडिरहेको देखिन्छ।
कामको प्रकार र संख्या विभाजन गरी पर्चामा तलब सुविधासमेत तोकिएको हुन्छ। पार्ट टाइम, फुल टाइम अथवा अफिसभित्र तथा घरैबाट २० हजारदेखि ५० हजारसम्म सजिलै गरी कमाउन सकिने त्यस्ता पर्चा पम्पलेट राजधानीमा छ्याप्छयाप्ती भेटिन्छन्।
पुतलीसडक, सुन्धारा, चावहिल, कोटेश्वर, बागबजार, कलंकी, नयाँ बसपार्क, महाराजगन्ज, लगनखेललगायतको सडक भएर हिँड्ने पैदलयात्रीका हातहातमा यस्तो थमाइन्छ। सडकका भित्ता र बिजुलीका पोलमा समेत पर्चा पम्पलेट टाँसिएको छ। एउटै पर्चामा करिब ५० देखि २ सय जनासम्मलाई रोजगारीको अवसर उल्लेख गरिएको हुन्छ। यस्तै पर्चा र विज्ञापनका आधारमा रोजगारीको खोजीमा विभिन्न ठाउँमा भौतारिरहेका शंकरदेव क्याम्पसमा एमबीएस अध्ययरत सुनसरीका महेन्द्र शाह धेरै जब सेन्टरमा गए पनि जागिर नपाएको बताउँछन्।
जागिर दिने नाममा ठगीमा परेका पीडितहरूको प्रहरीमा उजुरी  नै  नआउने गरेको पाइएको छ। हालसम्म प्रहरीमा उजुरी नआएको महानगरीय प्रहरी प्रभागले जनाएको छ। यसरी पीडितले उजुरी नगर्दा ठगको मनोबल बढ्ने गरेको पाइन्छ। सानो रकम भएकाले पनि प्रहरीसम्म उजुरी लिएर पीडित नजाने गरेको देखिएको छ। प्रहरीमा उजुरी नपर्दा जब सेन्टरका नाममा ठगी गर्नेहरूको धन्धा फस्टाउँदै गएको छ।
– बेनाम, काठमाडौं।
प्राविधिक शिक्षामा जोड देऊ
नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको छ। नेपालमा शैक्षिक जनशक्ति पनि बेरोजगार बन्न बाध्य छन्। स्नातकोत्तर उत्तीर्ण गरेका कैयौं जनशक्ति विदेश पलायन भएका छन् भने डिग्री हासिल गरेर पनि रोजगार पाउन नसकेका दृष्टान्त थुप्रै छन्। विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लाग्दासमेत नेपाली समाजले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको छ। यो अधिकांश नेपालीको नित्य कर्मजस्तै बन्न पुगेको छ। सीपमूलक काम गर्ने र आफ्नो कमाइ गरेर खाने संस्कृतिको अझैसम्म विकास नभएका कारण हाम्रो देश विकासमा धेरै पछाडि परेको छ।
प्राविधिक ज्ञान भए कोही पनि बेरोजगार बन्नुपर्दैन। त्यसैले आजको प्रमुख आवश्यकता नै व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा नै हो। नेपालका युवा जनशक्ति विदेश पयालन हुने प्रवृत्ति बढिरहेको छ। देशमा जनशक्ति घट्दै जाँदा छिमेकी मुलुकका मजदुरले घर तथा विकास निर्माणका काम गर्दै आएका छन्। देशमा भारतीय मूलका नागरिकले धान रोपिदिनुपर्ने, कपडा सिलाइदिनुपर्ने, धान भित्र्याउने र काटिदिने काम गरिदिनुपर्ने अवस्था छ। मेहनत गर्न सके नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि अरूले नै सिकाइदिनुपरेको छ।
अहिले देशभर भर्ना अभियान चलिरहेको छ। स्कुले बालबालिकालाई आफ्नो तौलबराबरको किताबको भारी बोकाएर हामीले शिक्षाका नाममा यातना दिइरहेका छौँ। कापी–किताबको संख्या बढाएर मात्रै विद्यार्थी शिक्षित हुने होइनन्। कैयौं देशमा बालबालिकाको रुचिअनुसार पठनपाठन गराउने अभ्यास भइसकेको छ। चीनमै सफल भएको छ। बालमैत्री, विद्यालयमैत्री र प्रविधिमैत्री वातावरणमा बालबालिकाले शिक्षा आर्जन गर्न सके दक्ष जनशक्ति स्वतः उत्पादन गर्न सकिन्छ। तर, हामीकहाँ शिक्षक देख्नासाथ त्रसित बन्नुपर्ने अवस्था छ।
वर्षौंदेखि लादिएर पढ्न बाध्य नेपाली युवा जनशक्ति अन्ततः खाडी मुलुकहरूमा ‘थ्रीडी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य हुनपर्ने नियति छ। एकातिर हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ भने शिक्षित जनशक्ति पनि प्राविधिक ज्ञान नहुँदा जस्तोसुकै कामका लागि पनि विदेशिनुपर्ने बाध्यता छ। त्यसै कारण गरिबी हाम्रो स्थायी मित्र बन्न पुगेको छ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थी तथा अभिभावकहरूको ध्यान केन्द्रित भइरहेको छ। तर, अझै पनि प्राविधिक शिक्षा अधिकांशको रोजाइमा पर्न सकेको छैन। एसईई परीक्षा उत्तीर्णसँगै भविष्यको मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके मात्र शैक्षिक बेरोजगारको अन्त्य हुनसक्ने देखिन्छ।
प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु जरुरी भइसकेको छ। जुन विषय अध्ययन गरे पनि त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ। देश विकासको मुख्य आधार नै शिक्षा प्रणाली भएकाले सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ। देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ। तसर्थ उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुने विश्वास गर्न सकिन्छ।
देशलाई आर्थिक विकास र समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्त रूप दिनु राज्यको उत्तरदायित्व हो। अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ।
मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थी विदेश पलायन भइरहेका छन्। यो राज्यका लागि ठूलो क्षति हो। त्यसैले हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ। यो विषयमा स्थानीय निकाय सचेत बन्नु जरुरी छ।
– सुरेश घले, लमजुङ।

प्रतिक्रिया दिनुहोस्